images
images

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले भोली विस्वासको मत लिने

  • ७ चैत्र २०७९, मंगलवार १९:३४

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोली प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा उहाँले दोस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो । भोली बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेगरी मुख्यमन्त्री कट्टेलले प्रदेशसभा सचिवलय हेटौंडामा प्रस्ताव पेश गरिसक्नुभएको छ । तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समिकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावका लागि दलहरु आन्तरिक रणनिति निर्माणमा जुटेका छन् । जसअनुसार नेकपा एमाले पनि आन्तरिक तयारीमा छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ ।

यता, नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्वका लागि दावि गरेको छ । फेरिएको सत्ता समिकरणसँगै बागमती प्रदेश सरकारमा कांग्रेसले दावि गरेको हो । कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले सत्ता समिकरण परिवर्तन भएसँगै बागमती प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेसको दावि रहेको बताउनुभयो । १ सय १० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्नेछ ।