
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ ।
संसदमा छैटौँ ठूलो दल बन्नेगरी दुई दलबीच एकता एकता हुन लागेको हो । जसको संरक्षक रेशम चौधरी, अध्यक्ष सीके राउत र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने निश्चित भएको नेताहरूले बताएका छन् ।
यद्यपि, सहअध्यक्ष राख्ने वा अध्यक्षमण्डल राख्ने भन्ने निक्र्यौल भने दुवै पार्टीले गठन गर्ने कार्यदलले टुंगो लगाउने छ । २०७५ सालमा गठन भएको राउत नेतृत्वको जनमत र डिल्लीबजार कारागारमै छँदा रेशम चौधरीले २०७८ सालमा श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन गरेको नाउपाबीच छिट्टै एकता गर्ने तय भएको छ । प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन् भने नाउपाका ४ जना छन् ।
एकता प्रक्रिया अन्तिम चरणमा पुगिसकेकोले छिट्टै उनीहरुको प्रभावशाली दल बनाउन लागिएको हो । दुई पार्टी एक हुँदा पहुँच मधेस प्रदेशदेखि सुदूरपश्चिमसम्म विस्तार हुनेछ । नाउपाको संरक्षक रहेका रेशम चौधरीले केही दिनमै दुवै पार्टीको कार्यदल बनाएर छलफल गरिएपछि एकताको टुङगो लाग्ने बताउनुभयो ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि एकता हुन लागेको जानकारी दिँदै एकतापछिको नेतृत्वको विषयमा कुनै विवाद नहुने बताउनुभएको छ ।
स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतले २०७५ चैत ५ गते आफ्नै नेतृत्वमा सिरहाको लहानबाट जनमत पार्टी गठन गर्नुभएको थियो ।