भक्तपुर । कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
बर्गदा गाउँमा शनिबार बिहान दुई समुदायबीच धार्मिक विषयमा भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । आज राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद र झडप भएको थियो ।
विवादपछि दुई समुदायबीच ढुंगा हानाहानसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सम्भावित झडपलाई रोक्न निषेधाज्ञा जारी गरेको हो ।
६ जना घाइते
घटनापछि निमित्त प्रजिअ भविश्वर घिमिरेले सूचना जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महराजगन्ज नगरपालिकाको पूर्व बगर्दी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन् । आदेश उल्लघंन गर्नेलाई कानुनअनुसार नियन्त्रणमा लिई कारबाही गरिने निमित्त प्रजिअ घिमरेले बताए ।
प्रदर्शनका क्रममा झडप हुँदा सुरक्षाकर्मी र सर्वसाधारण गरी ६ जना सामान्य घाइते भएको निमित्त सहायक प्रजिअ घिमिरेले बताए । प्रदर्शनकारीले तौलिहवा–बहादुरगन्ज सडक खण्डअन्तर्गत महाराजगन्जको गैंडहवामा टायर बालेर विरोध प्रदर्शन गर्दै बाटोसमेत अवरुद्ध गरेका छन् । घटनास्थलमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



हाम्रो अपडेट 






