images
images

दोलखाका ९ वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटिए

  • ८ बैशाख २०७९, बिहीबार १५:१६

जिरी (दोलखा) । स्थानीय तह निर्वाचनका लागि दोलखाका ९ वटै स्थानीय तहमा निर्वाचन अधिकृतहरु खटिएका छन् ।

जिल्लाको भीमेश्वर नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र अन्य ८ वटा पालिकामा निर्वाचन अधिकृतहरु खटिएका हुन् । सबै स्थानीय तहमा आजदेखि निर्वाचन कार्यालय स्थापना भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई नियुक्ति दिएर पालिकारुमा खटाइएको छ । उनीहरुलाई भोलीदेखि तालिम दिने र तालिम सम्पन्न भएपछि निर्वाचनमा प्रयोग गरिने सरसामान दिएर मतदान स्थलमा पठाइने निर्वाचन कार्यालय दोलखा सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । निर्वाचन आयोगले दोलखा जिल्ला अदालतका न्यायाधीश कविप्रसाद न्यौपानलेलाई भीमेश्वर नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको रुपमा खटाएको छ । जिल्लाका अन्य ८ स्थानीय तहमा निर्वाचन अधिकृतहरु खटिएका छन् । मेलुङ गाउँपालिकामा विनोद कुमार खड्का, गौरीशंकर गाउँपालिकामा जिल्ला समन्वय समितिका उपसचिव होम प्रसाद घिमिरे, कालिञ्चोक गाउँपालिकामा राष्ट्रिय कितावखाना ललितपुरका उपसचिव विजयराज बढु निर्वाचन अधिकृतको रुपमा खटिएका छन् ।

यसैगरी, जिरी नगरपालिकामा उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्याधीवक्ता नवराज पराजुली, तामाकोशी गाउँपालिकामा राष्ट्रिय सुचना आयोग काठमाडौंका उपसचिव बाबुराम खनाल, विगु गाउँपालिकामा जिल्ला अदालत दोलखाका श्रेश्तेदार शिवकुमार पोखरेल र वैतेश्वर गाउँपालिकामा खानेपानी मन्त्रालयका उपसचिव वसिष्ट कुमार घिमिरेलाई निर्वाचन अधिकृतको रुपमा खटाइएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जसमा एउटा निर्वाचन कार्यालयमा कार्यालय सहयोगी र सुरक्षागार्ड सहित ९ जना कर्मचारी खटाइएको छ । स्थानीय तह निर्वाचनका लागि दोलखामा १ सय ७८ मतदान केन्द्र र ९४ वटा मतदान स्थल कायम हुनेछ ।

मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुको कार्यालय स्थापना

यसैबीच, दोलखामा मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुको कार्यालय स्थापना भएका छन् । निर्वाचन कार्यालय दोलखाका अनुसार यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिकामा आज निर्वाचन कार्यालय स्थापना भएको हो । देशभरका ७ सय ५३ वटै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै दोलखामा पनि निर्वाचन कार्यालय स्थापना भएको हो । जसअनुसार जिल्ला सदरमुकाम समेत रहेको भिमेश्वर नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ भने अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । भीमेश्वर नगरपालिका ३ चरिकोटस्थित साविकको महिला विकास कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

यसैगरी, जिरी नगरपालिकाको वडा नम्बर ६ मा, तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ मा, विगु गाउँपालिकाको वडा नम्बर ४ मा, मेलुङ गाउँपालिकाको वडा नम्बर ४ मा र कालिञ्चोक, गौरीशंकर, बैतेश्वर र शैलुङ गाउँपालिकामा पालिकाको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी केसीले जानकारी दिनुभयो ।