images
images

एसपी केसीमाथि नै छानबिन, बरिष्ठ सईलाई निलम्बन गर्ने तयारी

  • ८ बैशाख २०८३, मंगलवार १३:४९

भक्तपुर । प्रहरीले उजुरी लिन नमानेको विषयमा अडियो सार्वजनिक भएपछि सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम केसी माथि नै छानबिन गर्न समिति गठन गरिएको छ । 

मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको हो । एसपी केसी र एक व्यक्ति बीचको फोन संवादको रेकर्ड बाहिरिएको थियो ।

जहाँ ती व्यक्तिले प्रहरीले उजुरी लिन नमानेको देखि उजुरी दिनका लागि प्रहरी कार्यालय भित्रै सहजीकरण गर्नुपर्नेमा नगरिएको गुनासो गरेको सुनिन्छ । यही विषयमा छानबिन गर्न समिति गठन गरिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी (प्रहरी नायव महानिरीक्षक) अबि नारायण काफ्लेका अनुसार एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन गरिएको हो । गठित समितिले अहिले  एसपीमाथि सोधपुछ सुरु गरेको छ ।

निलम्बन गर्ने तयारी

यता,अडियो प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको छ ।

वरिष्ठ सई जबराले आफ्नै कार्यालयका प्रमुख तथा संगठनलाई बद्नाम गराउने उद्देश्यले व्यापारीसँग आफैंले फोन गरी बनावटी कथा रचेर अडियो बनाई प्रचार गरेको आरोप छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका एसपी तथा सहायक प्रवक्ता भेषराज रिजालले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन् ।