images
images

दोलखामा स्थानीय निर्वाचनः एमालेले गुमायो सत्ता, गठबन्धनलाई सफलता

जिरी (दोलखा) । दोलखामा समग्रमा गठबन्धन सफल भएको छ ।

२०७९ सालको हालै सम्पन्न निर्वाचनको नतिजा अनुसार जिल्लामा यो पटक गठबन्धन सफल भएको देखिएको हो । यो सँगै जिल्लामा एमालेको लामो समयदेखिको विरासत ढलेको छ । दोलखामा २०७४ सालको निर्वाचनबाट ९ पालिकाको प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी १८ पद मध्ये ७ प्रमुख र ७ उपप्रमुख गरि १४ पद एमालेले जितेर पहिलो शक्ति बनेको थियो । तर, यो पटक जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३/३, एमालेले २ र एकीकृत समाजवादीले एक स्थानमा पालिका प्रमुख तथा अध्यक्ष जितेका छन् । यस्तै, एमालेले ५, कांग्रेसले ३ र माओवादीले एक पालिकामा उपप्रमुख तथा उपाध्यक्ष जितेका छन् ।

गत निर्वाचनमा नेपाली काँग्रेसको भागमा २ सिट प्रमुख र माओवादी केन्द्रले २ सिट उपप्रमुखमा चित्त बुझाउनु परेको थियोे । वडाहरुमा एमाले ४३ सिट, काङ्ग्रेस २० सिट र माओवादी ११ सिटमा मात्रै सिमित थियो । तर, यो पटक वडाध्यक्षहरुमा काँग्रेस र एमाले २४/२४ सिट, माओवादी २२ र एकीकृत समाजवादी र स्वतन्त्रको २/२ वडामा जित भएको छ ।

तीन पालिकामा गठबन्धन पूर्ण सफल

जिल्लाको तामाकोशी गाउँपालिका, गौरीशंकर र कालिञ्चोक गाउँपालिका गरी ३ वटा पालिकामा गठबन्धन पूर्ण सफल भएको छ । जसअनुसार जिल्लाको गौरीशंकर गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । माओवादीका विश्वास कार्की पालिका अध्यक्ष बनेका छन् भने उपाध्यक्षमा कांग्रेसका श्याम सुन्दर तामाङ विजयी भएका छन् । गौरीशंकरमा वडा नम्बर ५ मा बाहेक सबै वडामा पनि गठबन्धनले जित निकालेको छ ।

यसैगरी, तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाकोे अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् । यस्तै, कालिञ्चोक गाउँपालिकामा पनि गठबन्धन पुर्ण रुपमा सफल भएको छ । पालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
शैलुङ गाउँपालिका, विगु गाउँपालिका र भीमेश्वर नगरपालिकामा भने प्रमुख र उपप्रमुख पदमध्ये प्रमुख पदमा मात्रै गठबन्धनले जित निकालेको छ । शैलुङमा पालिका अध्यक्षमा माओवादी केन्द्रका रिमालबाबु श्रेष्ठ निर्वाचित हुँदा भीमेश्वरमा कांग्रेसका उम्मेदवार ईश्वर नारायण मानान्धर नगरप्रमुखमा विजयी भएका छन् । यसैगरी, विगुमा माओवादी केन्द्रका उम्मेदवार संजिव ओली विजयी भएका छन् । तर, भीमेश्वर, शैलुङ र विगुको उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट भीमेश्वरमा उपप्रमुखमा कमला बस्नेत, शैलुङमा पार्वती कार्की र विगुमा देवीका थामी विजयी भएका छन् ।

तीन पालिकामा सिङ्गल शक्ति

एमालेले मेलुङ गाउँपालिका र जिरी नगरपालिकामा पालिका प्रमुख र उपप्रमुखनै जितेको छ भने बैतेश्वरका गठबन्धन नगरेको कांग्रेसले पालिका प्रमुख र उपप्रमुख लिन सफल भएको छ । मेलुङ गाउँपालिकामा एमालेले पालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ । एमालेका उम्मेदवार हिरा थोकर पालिका अध्यक्ष बन्दा एमालेकी गायत्री आचार्य उपाध्यक्ष बनेकी छिन् । जिरीमा एमालेका मित्र जिरेल नगरप्रमुखमा निर्वाचित हुँदा उपप्रमुखमा दोस्रो पटक कृष्णमाया बुढाथोकीनै निर्वाचित भएका छन् ।

बैतेश्वर गाउँपालिकामा कांग्रेसका छवि लामा पालिका अध्यक्ष बनेका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी उम्मेदवार कल्पना उप्रेती निर्वाचित भएकी छन् ।