images
images

प्रधानमन्त्री र मन्त्रीको सम्पति सार्वजनिक, महासेठ सबैभन्दा धनाढ्य

  • ८ जेष्ठ २०८१, मंगलवार १८:१२

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गरेको छ ।

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित २३ मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको सम्पति रहेको पाईएको छ। यस्तै, सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैभन्दा गरिब उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठ देखिएका छन्।

मन्त्री महासेठले जनकपुर उपमहानगरपालिकामा ४२ वर्गमिटर जग्गा, साढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा र त्यसमा रहेको साढे २ तले घर रहेको सम्पति देखाउनुभएको छ । यसैगरी, श्रीमती जुली कुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ बिघा, ३ कठ्ठा जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कठ्ठा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कठ्ठा जग्गा र रघुवीरको नाममा धनुषामा १ बिघा १५ कठ्ठा जग्गा रहेको छ ।

यस्तै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पति विवरण करिब ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको छ । राष्ट्रिय वाणिज्य बैँक सिंहदरबारमा १ लाख २२ हजार ९ सय १८ रुपैयाँ बचत रहेको छ । सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ५ तोला सुन, बैँकमा २५ लाख नगद र श्रीमती सिता दाहालको नाममा चितवनको भरतपुर–१४ मा १४ कठ्ठा जग्गा रहेको छ भने सीताको नाममा भरतपुर–१४ मा १ कठ्ठा जग्गा अंश रहेको पाईएको छ। उहाँले ९ वर्षमा एउटा घर थप गर्नुभएको छ ।

अर्थमन्त्री वर्षमान पुनको ३३ लाख नगद र एउटा हलुका सवारीसाधन मात्रै सम्पति रहेको छ । यसैगरी गृहमन्त्री लामिछानेले सम्पति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले आज आफ्नोसहित श्रीमतीको पनि सम्पति विवरण सार्वजनिक गरेका हुन् । काठमाडौँ महानगरपालिका–६ स्थायी घर भएका लामिछानेले भक्तापुरमा १ रोपनी १ आना पैतृक सम्पति देखाएका छन् । ग्लोबल आईएमई बैँकमा ५ हजार रुपैयाँ, नेपाल बैँक लिमिटेडमा १ लाख ५ हजार मात्रै सम्पति रहेको छ । यस्तै, श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन २० केजी चाँदी लगायत सम्पतिहरु रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री हितबहादुर तामाङसँग ६ तोला सुन, १२ रोपनी जग्गा र २० लाख नगद रहेको छ भने संघीय मामिला तथा सामान्य प्रशानमन्त्री भानुभक्त जोशीसँग काठमाडौँ र बझाङमा ३ घर र ४३ लाख रुपैयाँ ऋण रहेको छ । श्रममन्त्री डोलप्रसाद अर्यालको १२ ठाउँमा जग्गा र १ सय ५० तोला सुन रहेको सम्पति सार्वजनिक भएको छ । सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौँ र डोल्पामा गरेर ७ वटा घर र ६० लाख नगद रहेको सम्पति विवरणमा उल्लेख गर्नुभयो । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सडीसँग १२ बोरको बन्दुक, ४१ लाख नगद रहेको सम्पति विवरणमा खुलाउनुभएको हो ।