
हेटौँडा । चाईनिज भेप भारततर्फ तस्करीका लागि यात्रुवाहक बस प्रयोग हुने गरेको खुलासा भएको छ ।
हेटौँडा प्रहरीले ५८ कार्टुन भेपको साथमा दोलखाका एक सहित पाँच जनालाई पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो । काठमाडौँबाट हेटौँडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा २ करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बस चालक दोलखाको भीमेश्वर नगरपालिका २ का ३७ बर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका ११ का २७ वर्षीय प्रबिन्द्र राना रहेका छा् ।
यस्तै, नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ घर भएका ३९ वर्षीय ईन्द्रबहादुर दर्जी, सोही स्थानका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका १६ का २९ बर्षीय राजकुमार हिमाङ पक्राउ परेका हुन् । पक्राउ परेका पाँचै जनालाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भैरहेको मकवानपुरका एसपी सिताराम रिजालले जानकारी दिनुभयो । बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत–नेपाल ओहोरदोहोर गर्ने नभई भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको र काठमाडौँको गोङ्गबु बसपार्कभन्दा माथि रमाईलोडाँडाबाट लोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।