images
images

जिरी तालको लागि आउने बजेट वर्षेनी फ्रिज हुँदै, तीन करोड प्रदेश फिर्ता

जिरी(दोलखा) । दोलखाको जिरीस्थित जिरी ताल निर्माणका लागि विनियोजन हुने बजेट वर्षेनी फ्रिज हुँदै गएको छ ।

गत वर्ष १५ करोड रुपैंया रकम कार्यान्वयन नभएर फ्रिज गएकोमा चालु आर्थिक वर्ष विनियोजन भएको ३ करोड बजेट पनि फ्रिज हुन लागेको हो । सो बजेट मानव निर्मित तालको लागि भन्दै बागमती प्रदेश सरकारले विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको लागि आएको बजेट पनि पछिल्लो पटक ताल निर्माणको प्रकृया अघि बढ्न नसकेपछि फ्रिज हुने चरणमा रहेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका प्रमुख रुपेश महतले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट कार्यान्वयमा जाने अवस्था नरहेपछि गत बैशाखमा प्रदेशले फिर्ता गर्नु भनेर पत्र पठाएको थियो । त्यसपछि उक्त तीन करोड बजेट खानेपानी उर्जा सिञ्चाई मन्त्रालयमा फिर्ता गएको छ ।

जिरी ताल निर्माणको चर्चाले ७ वर्ष पार गरेपनि कार्यान्वयन नभई वर्षेनी बजेट फ्रीज हुँदै गएको छ । फेरी पनि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दा जिरी तालको लागि बजेट छुट्याएको घोषणा गरेको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै गत शनिबार आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जिरी तालको लागि बजेटको व्यवस्था गरिएको घोषणा गर्नुभएको हो ।

जिरी ताल निर्माणको चर्चाले ७ वर्ष पार गरेपनि कार्यान्वयन नभई वर्षेनी बजेट फ्रीज हुँदै गएको छ । गत वर्ष १५ करोड रुपैंया रकम कार्यान्वयन नभएर फ्रिज गएकोमा चालु आर्थिक वर्ष विनियोजन भएको ३ करोड बजेट पनि फ्रिज हुन लागेको हो । फेरी पनि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दा जिरी तालको लागि बजेट छुट्याएको घोषणा गरेको छ ।

यता, जिरी तालको निर्माण प्रकृया नै रोकिएको छ । जिरी ताल निर्माणको लागि काम अघि बढाउन प्रदेश र संघले दिनुपर्ने स्वीकृति नै रोकिएको हो । केही वर्ष अघि डिपिआर सकेको जिरी ताल आयोजनाको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाले बातावरण अध्ययन प्रतिवेदन तयार गरी बागमती प्रदेशस्थित खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्रालयमा पठाएको धेरै महिना भैसकेको छ । सो प्रतिवेदन खानेपानी मन्त्रालयलयले वन मन्त्रालयमा पेश गरेपछि स्वीकृत भएर आउनुपर्नेमा हालसम्म प्रकृयामै रहेको बताइएको छ । प्रदेश सरकारको मन्त्रीपरिषदले प्रस्ताव स्वीकृत गरेपछि र संघीय सरकारबाट पनि अनुमति पाएपछि मुआब्जा लिने काम अघि बढाउन मिल्छ ।

जिरीमा निर्माण हुने बागमती प्रदेशको गौरवको आयोजना तालको लागि ७ सय भन्दा बढी रोपनी जग्गा आवश्यक पर्नेछ । त्यसमध्ये ५ सय ४१ दशमलव ६५ रोपनी व्यक्तिको जग्गा रहेको र अन्य बाँकी सरकारी र वनको रहेको छ । तालको सतही क्षेत्रफल एक लाख २३ हजार ६ सय ८५ दशमलव ५३ वर्गमिटर र स्टोरेज क्षमता १० लाख १५ हजार ६ सय ६९ दशमलव ४१ घनमिटरको रहेको छ ।

जिरी ताल निर्माण पछि प्रभाव पर्ने जिल्ला दोलखा भएपनि जिरी नगरपालिका र जिरीको वडा नम्बर ४ र ६ विशेष प्रभावमा पर्ने  क्षेत्र हो । तर, हाल ताल निर्माणको प्रकृया अलपत्र अवस्थामा रहेको छ ।