हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री आज बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै हुनुहुन्छ ।
सत्ता विमुख हुने निश्चित रहेपनि मुख्यमन्त्री जम्कट्टेलले आज संसद् फेस गर्न लाग्नुभएको हो । अंक गणितीय रूपमा सत्ता उहाँको पक्षभन्दा बाहिर गइसकेको अवस्थामा आज संसदबाट विश्वासको मत लिने तयारी गरिरहनुभएको हो । मुख्यमन्त्री जम्कट्टेलको पक्षमा २९ मत मात्रै प्राप्त हुने देखिन्छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र साझेदार दल एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी समेतको गरी २९ मत प्राप्त हुन्छ ।
नयाँ समीकरणअनुसार सरकार निर्माणको तयारी थालेका कांग्रेस–एमालेले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । राप्रपा र नेमकिपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ ।
आज मुख्यमन्त्री जम्कट्टेलले प्रक्रियागत रूपमा संसदबाट विश्वासको मत लिने प्रस्ताव पेस गरेसँगै सो उपर छलफल हुने संसद्को कार्यसूची निर्धारण गरिएको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो । बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसउपर प्रदेशसभाका दलहरूले दलगत रूपमा छलफलमा भाग लिने कार्यक्रम छ । दलगत रूपमा संसदीय दलका नेताले धारणा राखेपछि मुख्यमन्त्रीले जवाफ पेस गर्ने र त्यसपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने गर्नुहुनेछ ।
गत असार १७ मा केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति बनेसँगै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा परेको थियो । केन्द्रीय तहको समीकरण अनुसार प्रदेश सरकारबाट तत्कालीन साझेदार दल नेकपा एमालेले असार २४ मा सरकारको समर्थन फिर्ता लिएको थियो भने ५ मन्त्रीको सामूहिक राजीनामा समेत गराएको थियो ।