images
images

भीमेश्वरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान

  • ६ श्रावण २०८१, आईतवार १४:४९

दोलखा । दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ ।

दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठ सहित जनप्रतिनिधि, गुठीयारहरुले आज शितल निवास पुगेर राष्ट्रपति पौडेललाई महाप्रसाद प्रदान गरेका हुन् । भीमसेनको शिलामा आएको पसिना पुछेको कपासलाई महाप्रसादका रुपमा राष्ट्रपतिलाई प्रदान गरिएको हो ।

महाप्रसाद लिएर वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, निवर्तमान वडाअध्यक्ष बिराजमान श्रेष्ठ, भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठ, कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठ, ज्ञानेन्द्र प्रधान, प्रविण प्रधान लगायतको टोली शितलनिवास पुगेका थिए । भीमेश्वरको शीलामा पसिना आएपछि राष्ट्रपति वा राष्ट्र प्रमुखबाट क्षमापुजा गर्नुपर्ने प्रचलन छ । सोही प्रयोजनका लागि आज राष्ट्रपति कार्यालयमा भीमेश्वरको महाप्रसाद लगिएको सचिव राजेन्द्र नारायण श्रेष्ठले बताउनुभयो ।

भीमेश्वर गुठी व्यवस्थापन समितिका पदाधिकारीहरुले आजै प्रधानसेनापति र प्रहरी महानिरिक्षकलाई पनि भेटेर भीमेश्वरको महाप्रसाद प्रदान गर्नुभएको छ । भीमेश्वरको शिलामा हिजो निरन्तर २ घण्टासम्म पसिना आएको थियो । मन्दिरको शिलामा दिउँसो १ः ४७ बाट पसिना आउन सुरु भएकोमा ३ः ५१ सम्म निरन्तर पसिना आएको हो ।

भिमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताईन्छ । शिलाको सबै भागवाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँवाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अनिष्ट हुने जनबिस्वास छ ।