images
images

बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्धारा पदबाट राजिनामा

  • ६ श्रावण २०८१, आईतवार १५:०६

हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनुभएको छ ।

आज बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उहाँले राजीनामा दिनुभएको हो । यसअघि जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो । असार २४ मा सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल सरकार अल्पमतमा परेको थियो । २०७९ साल पुस २५ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेपछि जम्कट्टेल १८ महिनामा सरकारबाट बाहिरिनुभएको हो ।

बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ । कांग्रेसबाट बहादुर सिंह लामा मुख्यमन्त्री बन्दै हुनुहुन्छ । सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस र एमालेका सांसदको हस्ताक्षर संकलन गरिएको छ ।