images
images

नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएर उदाएका गिरि सधैंका लागि यसरी अस्ताए

  • ५ भाद्र २०७९, आईतवार ११:२५

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएपछि देशको सिंगो राजनीतिक क्षेत्र शोखमा डुबेको छ ।

काँग्रेसका नेता अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक समेत रहेका गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा गएराती ७५ वर्षको उमेरमा निधन भएको हो । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पछि केही महिनाअघि नेपाल फर्किएका गिरी साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । तर, शनिबार राति ९ः३६ बजे उनको निधन भएको हो । गिरि प्रतिनिधिसभा सदस्य समेत रहेका थिए । गिरि २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा थालेका थिए । बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरीको राजनीतिक यात्रा पनि सानै उमेरबाट प्रारम्भ भएको थियो । राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा करिब एक वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस) को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरि राष्ट्रिय राजनीतिमा उदाएका थिए ।

२०५६ सालको निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भएका थिए । त्यसपछि २०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए ।

नेपाली राजनीतिमा गिरीको अभाव 

यसैबीच, उनको निधनसँगै नेपाली राजनीतिमा नेता गिरीको अभाव घर्किन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनमा शोक व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गिरिको निधनले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको भन्दै शोक व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि काग्रेस नेता गिरीको निधले देशले सच्चा र असल नेता गुमाएको भन्दै दुखेसो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गिरीको निधनमा दुःख ब्यक्त गर्दै देशले सच्चा र असल नेता गुमाएको बताउनुभएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि कांग्रेस उनको निधनबाट मर्माहत भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा चिन्तनशील राजनीतिकर्मी गिरिको निधनबाट मर्माहत भएको भन्दै दुखेसो पोख्नुभएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीको निधनले नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफू स्तब्ध भएको भन्दै गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको बताउनुभएको हो । स्वर्गाीय नेता गिरिको अन्येष्टि आजै गरिने भएको छ । उनको पार्थिव शरीरलाई बिहान साढे ११ बजे देखि २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा राखिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसपछि गिरीको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा लगेर अन्त्येष्टी गरिनेछ ।