images
images

दोलखाको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री पाण्डेको भनाई

  • ५ भाद्र २०७९, आईतवार १९:५९

दोलखा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दोलखाको विकास निर्माणलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ ।

दोलखामा संचालित विकास आयोजना तथा कार्यक्रमको वार्षिक समिक्षा गोष्ठिमा सहभागी हुन आज दोलखा आउनुभएका मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले योजना छनोट र बजेट विनियोजन गर्दा दोलखालाई सँधै प्राथमिकता दिने गरेको बताउनुभयो । उहाँले यो पटक प्रदेश सरकारले सदरमुकाम चरिकोटमा रहेको पशुपति चौंलागाई स्मृति अस्पतालाई विशेषज्ञ सहितको अस्पताल बनाउने गरी बजेट विनियोजन गरेको बताउनुभयो । अस्पतालका लागि ३२ वटा दरबन्दी स्वीकृत भइसकेको भन्दै उहाँले प्रदेश सरकारले यसलाई विशेष ध्यान दिएर काम गरिरहेको बताउनुभयो ।

प्रदेशमा रहेका सवैजसो अस्पताललाई व्यवस्थित गर्नका लागि सरकारले ६ सय २९ जना कर्मचारी समेत माग गरिसकेको मन्त्री पाण्डेले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले नै विशेषज्ञ डा.समेत नियुक्ति गरेर पठाउनेछ । पशुपति चौलागाई स्मृति अस्पतालमा दुई वटा सिटिस्क्यान मेसिन, निशुल्क डाइलासिस दिने व्यवस्था गर्नेगरी तयारी भइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । यस्तै मुख्यमन्त्री पाण्डेले जिरी अस्पताल अघिल्लो पटक प्रदेश सरकारले लिन खोज्दा स्थानीय सरकारले जिम्मा दिन नमानेको तर अहिले पुनः स्थानीय सरकारले प्रदेश सरकारलाई जिम्मा लगाउन खोज्दा समस्या भएको बताउनुभयो । बागमती प्रदेश सरकारले प्रदेशका १२ वटा जिल्लामा प्रदेश समन्वय कार्यालय खोल्ने तयारी गरेको छ । सो कार्यालयमा खुलेपछि सानो कामका लागि पनि हेटौंडा धाउनुपर्ने बाध्यताको अन्त्य हुने मुख्यमन्त्री पाण्डेको भनाई छ । यसैगरी प्रदेश सरकारले दोलखामा भू संरक्षण तथा जलाधार कार्यालय स्थापना गर्ने तयारी समेत गरेको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दोलखाको विकास निर्माणलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । अस्पतालका लागि ३२ वटा दरबन्दी स्वीकृत भइसकेको भन्दै उहाँले प्रदेश सरकारले यसलाई विशेष ध्यान दिएर काम गररिहेको बताउनुभयो । यस्तै मुख्यमन्त्री पाण्डेले जिरी अस्पताल अघिल्लो पटक प्रदेश सरकारले लिन खोज्दा स्थानीय सरकारले जिम्मा दिन नमानेको तर अहिले पुनः स्थानीय सरकारले प्रदेश सरकारलाई जिम्मा लगाउन खोज्दा समस्या भएको बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले दोलखालाई भ्रष्टचार शुन्य र सुशासन कायम भएको जिल्ला बनाउन चाहेको बताउनुभयो । त्यसका लागि दृढतापुर्वक काम गर्न उहाँले स्थानीय सरकारका प्रमुखलाई आग्रह गर्नुभएको हो । साथै उहाँले अधुरा कामलाई गतिका साथ अघि बढाउन निर्देशन दिनुभयो । जनप्रतिनिधिहरुले आफ्नो कार्यबाट कुनै पनि हालतमा पन्छिन नमिल्ने भन्दै उहाँले दोलखाको समृद्धिका लागि सुरु र अन्तिम ढोका स्थानीय सरकार भएकाले यसतर्फ विशेष ध्यान दिएर गतिविधि बढाउन अघि बढाउन उहाँले आग्रह गर्नुभएको छ । कार्यक्रमलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङ, स्थानीय सरकारका प्रमुखहरुले सम्बोधन गरेका थिए ।