काठमाडौं । २०८० साल कात्र्तिक २७ गतेको दिन सरकारले एउटा निर्णय गर्याे । जुन निर्णयले नेपालमा टिकटक चलाउन प्रतिबन्ध भयो । त्यसपछि नेपालमा टिकटक चलाउन छुट छैन । सरकारले प्रतिबन्ध लगाएपनि विभिन्न तरिकाले टिकटक चलाउनेको संख्या अधिक छ । टिकटकको सही ठाउँमा सदुपयोग नभएको र सामाजिक सद्धभाव विगार्ने काम गरेको भन्दै सरकारले उक्त निर्णय लिएको थियो ।
तर, टिकटक माथिको प्रतिबन्धले एक वर्ष नपुग्दै फेरी सरकारले प्रतिबन्ध फुकुवा गर्ने चर्चा सुरु भएको छ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको हो । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको बुझिएको छ ।
टिकटकले पनि बारम्बार लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिवद्धता जनाउँदै प्रतिबन्ध हटाउन माग गर्दै आएको छ । तर, सरकारले प्रतिबन्ध नहटाएपछि नेपालका लागि चिनियाँ राजदुत छन सोङले राजनीतिक भेटवार्ताहरुमा टिकटकको प्रतिबन्धबारे चासो राख्दै आएका छन् ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक प्रतिबन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न अधिकारीहरुलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय स्रोतको भनाई छ । सामाजिक सञ्जालमा कुनै किसिमको प्रतिबन्ध लगाउन नहुने भन्दै प्रधानमन्त्री ओलीले सञ्चार मन्त्रालय र आफ्नो टिमलाई टिकटकको प्रतिवद्धताबारे छलफल गरेर आवश्यक प्रस्ताव मन्त्रिपरिषदमा ल्याउन भनेको स्रोतको दावी छ ।
प्रधानमन्त्री ओली टिकटक माथिको प्रतिबन्ध लामो समयसम्म राख्न नहुने पक्षमा देखिएको बेला मन्त्रीपरिषदले छिट्टै फुकुवाको निर्णय गर्न सक्ने आँकलन गरिएको छ । टिकटकले पनि सरकारलाई प्रतिबन्ध खुलाउन पटक–पटक आग्रह गर्दै पत्राचार गरिरहेको छ ।
टिकटकले नेपालको सबै कानुनी प्रावधान आफुहरुका लागि स्वीकार्य रहेको जनाउँदै पत्र पठाएपछि सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थियो । तत्काल फुकुवाको तयारी थाल्न निर्देशन पाएपछि सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले टिकटकका नेपाल प्रतिनिधिहरुसँग छलफल गरिरहेको बुझिएको छ ।
किन भएको थियो नेपालमा टिकटकमाथि प्रतिबन्ध?
टिकटकमाथिको प्रतिबन्ध गत साउन २७ गते मात्रै भर्खर ९ महिना भयो । नेपालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० साल कात्र्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
नेपालमा टिकटक एक मनोरञ्जनको माध्यम बनेको थियो । जो सुकैले सहजै चलाउन सक्ने यो सामाजिक सञ्जालमा अपलोड गरिने कतिपय भिडिओले समाजमा नकारात्मकता फैलाइरहेको थियोे । कतिपय टिकटकको लाइभ स्टिमिङदेखि भिडिओहरु नेपाली समाजमा मेल नखाने र अपाच्य खालमा पोष्टहरु हुन थालेका थिए । त्यसपछि सरकार प्रतिबन्धको निर्णयमा पुगेको थियो ।
टिकटकले सामाजिक मर्यादा बिथोलिएको र सामाजिक द्धेष फैलाएको भन्दै मन्त्रिपरिषदले २०८० साल कात्र्तिक २७ टिकटक बन्द गर्ने निर्णय गर्याे । प्रधानमन्त्री प्रचण्डले यो निर्णय लिनुअघि कांग्रेस, एमाले लगायतका दलहरुसँग पनि परामर्स गर्नुभएको थियो । जुन प्रतिबन्धमा प्रमुख दलहरुले मौन बसेर समर्थन जनाएका थिए ।
नेपालको छिमेकी मुलुक भारतले २०२० मै टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाएको थियो भने अमेरिकामा सीमित प्रतिबन्ध थियो ।