हेटौँडा । बागमती प्रदेश सरकारको कामकारबाहीलाई व्यवस्थित बनाउन मन्त्रीहरुसँग करार सम्झौता गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री बहादरसिं लामाले आज प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पदान करार सम्झौता गर्नुभएको हो । मुख्यमन्त्री लामाले सरकारको काम कारबाहीलाई व्यवस्थित बनाउन मन्त्रीहरुसँग सम्झौता गरिएको बताउनुभएको छ । उहाँका अनुसार मन्त्रलयहरुले कुन महिना कार्यविधि बनाउने ? कुन महिना बजेट बनाउने ? तथा कुन महिनामा काम सम्पन्न गर्ने लगाएतका विषय सम्झौतामा समेटिएको छ । अब प्रदेशका मन्त्रालयहरुले सोही कार्यसम्पादन करार सम्झौता अनुसार गतिविधि अघि बढाउनेछन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो । जसअनुसार खेलकुदमन्त्री मीनकृष्ण महर्जन र विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठ बाहेक सबै मन्त्रीहरुसँग करार सम्झौता भएको छ । खेलकुदमन्त्री कार्यक्रममा उपस्थित भएका थिएनन् भने श्रेष्ठले जिम्मेवारी नपाएका कारण करार सम्झौता नभएको हो । साउन १ गतेबाट सुरु हुने सो करार सम्झौताको अवधि २०८२ सालको असार मसान्तसम्म रहनेछ ।
बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि असोज मसान्तसम्म तयार गर्नुपर्ने, खरिद प्रक्रिया टेण्डर सम्बन्धि कार्य आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भएको अख्तियारी तथा मार्गदर्शन बमोजिम गर्नुपर्ने लगाएतको विषय सम्झौतामा उल्लेख छ । साथै १३ वटै जिल्लाबाट प्रदेश सरकारका सेवाहरु प्रवाह गर्नेगरि काम सुरु भएको प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।