images
images

दोलखाका २९ हजार विद्यार्थीको पठनपाठन ठप्प, आन्दोलनमा नजाने शिक्षकलाई एक हजार जरिवाना

  • ४ आश्विन २०८०, बिहीबार १४:१७

दोलखा । शिक्षक आन्दोलनका कारण दोलखाका सवै सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।

दोलखाका शिक्षकहरु आन्दोलनकालागि विद्यालय बन्द गरेर काठमाडौं गएपछि पठनपाठन ठप्प भएको हो ।
आन्दोलनका कारण जिल्लाका ३ सय ३७ विद्यालय बन्द भएका हुन् । दोलखा जिल्लामा ८४ वटा माध्यमिक, ५१ वटा आधारभूत र २०२ प्राथमिक विद्यालय रहेकोमा सवै विद्यालय शिक्षक आन्दोलनका कारण बन्द भएको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख संकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द हुँदा जिल्लाका २९ हजार ८ सय २ बिद्यार्थीको पठनपाठन प्रभावित भएको छ । पढाई हुने आशामा विद्यालय पुगेका कतिपय विद्यार्थीहरु त्यतिकै घर फर्किन बाध्य भएका छन् ।

संघीय राजधानी काठमाडौं नजिकै रहेको हिमाली जिल्ला दोलखाका शिक्षकहरु मंगलवारदेखि नैं काठमाडौं केन्द्रित भएका हुन् । काठमाडौं उपत्यका आसपासका जिल्लाका शिक्षकहरुलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन भनि शिक्षक महासंघले गरेको निर्देशन अनुसार दोलखाका अधिकाँश शिक्षक आन्दोलनमा सहभागी भएका छन् । स्थायी, अस्थायी, राहत शिक्षकहरुसँग विद्यालयका कर्मचारीहरु पनि आन्दोलनकालागि काठमाडौं गएका छन् ।

यसैवीच, दोलखाको जिरी नगरपालिकाको शिक्षक महासंघले आन्दोलनमा नजाने शिक्षकलाई प्रति दिन एक हजार जरिवाना गर्ने भएको छ । असोज ३ गते विहान ११ बजेभित्र काठमाडौं पुग्नु पर्ने भन्दै आन्दोलनमा नजाने शिक्षकले प्रति दिन एक हजार आर्थिक दायित्व बुझाउनु पर्ने र त्यसको समन्वय सम्वन्धित विद्यालयका प्रधानाध्यापकले गर्ने शिक्षक महासंघ जिरीले निर्णय गरेको हो ।

शिक्षक आन्दोलनका कारण दोलखाका विद्यालय बन्द भएर सामुदायिक विद्यालयका करिव २९ हजार बिद्यार्थी पढ्नवाट वञ्चित भईरहँदा जिल्लाका ३९ निजी विद्यालयका ५ हजार ९ सय ८५ विद्यार्थीहरुको भने नियमित पठनपाठन भईरहेको छ ।

तस्वीरः काठमाडौंमा जारी शिक्षक आन्दोलन ।