images
images

सत्ता गठबन्धनको चुनावी अभियान सुरु, सातै प्रदेशमा शीर्षस्थ नेताले सम्बोधन गर्ने

  • ४ कार्तिक २०७९, शुक्रबार ०८:२५

काठमाडौं । सत्ता गठबन्धनले आजदेखि संयुक्त रुपमा चुनावी अभियान सुरु गर्ने भएको छ ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान सुरु गर्न लागेका हुन् । असोज २७ गते प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकको निर्णयअनुसार आजबाट सात वटै प्रदेशमा गठबन्धन दलको संयुक्त, कार्यकर्ता भेला सुरु हुने भएको हो । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पोखरा पुगिसक्नु भएको छ । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज पोखरा जादैंछन् । शीर्ष नेताले आज ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताउनुभयो ।

सत्ता गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ । यसैगरी भोली विराटनगर र जनकपुरमा प्रशिक्षण कार्यक्रम हुनेछ । सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आमन्त्रण गरिने छ । यस्तै कार्तिक ६ गते धनगढी र सुर्खेतमा प्रशिक्षण हुनेछ भने कार्तिक ७ गते काठमाडौमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । गठबन्धन दलले यसअघि काठमाडौं २ र ललितपुरमा संयुक्त चुनावी अभियान सम्पन्न गरिसकेको छ ।