
जिरी (दोलखा) । दोलखाको जिरीस्थित आकाशदिप वचत तथा ऋण सहकारी संस्था लिमिटेडको वचत निक्षेप करिव २७ करोड पुगेको छ ।
जिरी नगरपालिका कार्यक्षेत्र रहेको आकाशदिपको गत असार मसान्तसम्मको कुल वचत २६ करोड ८९ लाख ७० हजार ४५८ रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष १ करोड ८६ लाख ६९ हजार ६७८ रुपैयाँ बढी बचत संकलन भएको छ । जिरीमा हिजो आयोजित संस्थाको ३० औं वार्षिक साधारण सभामा यस्तो जानकारी दिइएको हो । संस्थाको सेयर पुँजी ४ करोड ५ लाख ६९ हजार १ सय रुपैयाँ रहेको छ भने संस्थागत पुँजी २ करोड १४ लाख ५० हजार ५४४ रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष संस्थाले २८ करोड ९३ लाख ६ हजार ३८१ रुपैयाँ ऋण लगानी गरेको थियो ।
गत आर्थिक वर्षको कारोवारवाट भएको आम्दानीवाट अन्य खर्च कटाएर १ करोड १ लाख ७ हजार ७ सय ४६ रुपैयाँ खुद नाफा भएको संस्थाका कोषाध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । साधारण सभामा संस्थाकी सचिव मीना जिरेलले ७० वर्ष उमेर पुगेका संस्थाका १ सय ४२ जना जेष्ठ सेयर सदस्यहरुलाई प्रति सदस्य ६ सयका दरले १ लाख २ सय ५२ रुपैयाँ बृद्ध भत्ता र ४० जना महिला सेयर सदस्यहरुलाई सुत्केरी खर्च वापत प्रति व्यक्ति १५ सयका दरले ६० हजार रकम वितरण गरिएको जानकारी दिनुभयो ।
आकाशद्धिपले क्षेत्रगतरुपमा क्षेत्रीय साधारण सभा सम्पन्न गरेर हिजो अन्तिम साधारण सभा गरेको हो । सभाको उद्घाटन गर्दै जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेलले सहकारी संस्थाहरु पारदर्शी र संचालकहरु आर्थिक अनुशासनमा रहनु पर्ने बताउनुभयो । संस्थाका अध्यक्ष बद्रीवहादुर खड्काको अध्यक्षतामा सम्पन्न साधारण सभामा दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का, जिरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मरिजवहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । २०५० साल मंसिरमा स्थापना भ्एको आकाशद्धिप साकोसमा ४ हजार ६ सय २० जना सेयर सदस्य र २ हजार १ सय ५२ जना बाल सदस्य रहेका छन् ।