images
images

११ दिनपछि अवकाश जान लागेकी राणालाई किन गरियो एआईजीमा बढुवा सिफारिस ?

  • ५ कार्तिक २०८१, सोमबार ०९:२०

काठमाडौं । अब ११ दिनमा अवकाशमा जान लागेकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस भएकी छिन् ।

हिजो बेलुकी बसेको बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो । राणाभन्दा अगाडि रहेका बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई छाडेर बढुवा सिफारिस समितिले राणालाई बढुवा सिफारिस गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोमा दरबन्दी भएर विमानस्थलको सुरक्षा प्रमुखमा कार्यरत राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेकी थिइन् । उनी ५६ वर्षे उमेर हदका कारण यही कार्तिक १५ गते अवकाशमा जान लागेकी छन् । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् ।

अतिरिक्त महानिरीक्षकको बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर हुनुपर्छ । तर, बढुवा सिफारिस सदर भए पनि उनको अवकाश रोकिँदैन । कांग्रेस नेता ज्ञानेन्द्र कार्र्कीकी नातेदार राणालाई विशिष्ट श्रेणीबाट अवकाश हुने गरी बढुवा सिफारिस गरिएको जानकारहरू बताउँछन् । विशिष्ट श्रेणीबाट अवकाश हुनेहरू भविष्यमा विभिन्न आयोग तथा सरकारी नियुक्तिका लागि योग्य हुन्छन् ।

यसअघि पनि शक्ति र सत्ताको नजिक हुनेहरूलाई अवकाशको मुखमा बढुवा दिएर पठाइने गरेको प्रचलन छ । रवि लामिछाने उप प्रधान एवं गृहमन्त्री हुँदा डीआईजी पोषराज पोखरेललाई उनकै जोडबलमा बढुवा सिफारिस गरिएको थियो । तर, नेकपा (एमाले)ले समर्थन फिर्ता लिएका कारण सरकार ढलेपछि पोखरेलको बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर भएन । उनी डीआईजीमै अवकाश भए ।

श्याम ज्ञवाली अवकास भएपछि भदौ २४ गतेदेखि नेपाल प्रहरीको जनपद समूहतर्फ एआईजी पद रिक्त छ । कार्य विभाग प्रमुख एआईजी रामदत्त जोशी पनि कात्तिक १८ गते अवकाश हुनेछन् । त्यसपछि एकैसाथ दुई एआईजी बढुवा गर्ने तयारी छ ।

यता, नेपाल प्रहरी अस्पतालको प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजुलाई बढुवा गर्न सिफारिस गरिएको छ । बैठकले डीआईजी ह्योजुलाई प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूहतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।