images
images

दोलखामा मुख्य निर्वाचन अधिकृत विरुद्ध नारावाजी, तत्काल मतगणना सुरु गर्न माग

  • ५ मंसिर २०७९, सोमबार २१:२१

जिरी (दोलखा) । दोलखामा अहिलेसम्म मतगणना सुरु नभएपछि गठबन्धनका उम्मेदवार र नेता तथा कार्यकर्ताले मुख्य निर्वाचन अधिकृत विरुद्ध नारावाजी गरेका छन् ।

दोलखा सदरमुकाम चरिकोटस्थित मतगणनास्थलमा भेला भएका गठबन्धनका उम्मेदवार र नेता तथा कार्यकर्ताहरुले मुख्य निर्वाचन अधिकृतविरुद्ध नारावाजी गरेका हुन् । उनीहरुले तत्काल मतगणना सुरु गर्न माग गरेका छन् । केहि बेर अगाडि भएको बैठकमा मुख्य मतदान अधिकृतले नेकपा एमालेको अनुपस्थितिमा मतगणनालाई अगाडि बढाउन नसक्ने बताएपछि उनीहरु विरोध प्रर्दशनमा उत्रिएका हुन् । मुख्य निर्वाचन विरुद्धको प्रदर्शनमा गठबन्धनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका गंगा कार्की, प्रदेशसभा १ का उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेशसभा २ का उम्मेदवार बर्मा लामा पनि सहभागी छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले अहिले पनि मतगणना स्थलमा नारावाजी गरिरहेका हुन् ।

उनीहरुले आज दिउँसो पछि छिटो भन्दा छिटो मतगणना गर्न प्रर्दशन गरेका थिए । पछिल्लो पटक आज बेलुकी आह्वान भएको सर्वदलीय बैठकलाई नेकपा एमालले बहिस्कार गरेको थियो । एमालेले बैठक बहिस्कार गरेपछि गठबन्धन दलहरु र अन्य साना दलका प्रतिनिधिहरुबीच मतगणना अघि बढाउने वा नबढाउने भन्ने विषयमा छलफल भएको थियो । तर, नेकपा एमालेका नेता सर्वदलीय बैठकमा अनुपस्थित रहेको र उनीहरुले निर्वाचन आयोगको निर्णय नआउन्जेल मतगणना कार्यमा सहभागी नहुने बताएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको कार्यलाई अगाडि बढाउन नसकिने बताएको थियो ।

आज साँझ आयोजना गरिएको सर्वदलीय बैठकमा अनुपस्थित भएको एमालेले बुथ कज्वा भएको मतदान केन्द्रहरुमा पुनः निर्वाचन हुनु पर्ने भन्दै माग सहित आफुहरुले दर्ता गराएको उजुरीको बारेमा निर्वाचन आयोगको निर्णय नआउन्जलेसम्म मतगणना कार्यलाई अगाडि बढाउन नसक्ने बताएका थिए भने कुनै पनि बैठकमा उपस्थित भएका थिएन्न । यहि विवादका कारण दोखलाको मतगणनाकार्य अन्योलमा परेको छ भने मुख्य निर्वाचन अधिकृत विरुद्ध नै उजुरी परेको छ ।