images
images

बागमतीमा सचिव अभावः प्रथम श्रेणीका अधिकृतलाई दिईयो जिम्मेवारी

  • ६ मंसिर २०८१, बिहीबार १७:५८

हेटौँडा । बागमती प्रदेशमा सचिव अभावका कारण प्रथम श्रेणीका अधिकृतलाई सचिवको जिम्मेवारी दिईएको छ ।

बागमती प्रदेश मन्त्रीपरिषदको आज बसेको बैठकले विभिन्न मन्त्रालयमा रिक्त रहेका सचिव पदमा राजपत्रांकित प्रथम श्रेणीका अधिकृत खटाउने निर्णय गरेको हो । प्रदेशका मन्त्रालयहरुमा सचिव अभाव भएपछि बागमती प्रदेश सरकारले प्रदेशमा सरुवा भएर आएका निजामति सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरुलाई प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको हो । जसअनुसार वेद प्रसाद भण्डारीलाई मुख्यमन्त्री कार्यालयको प्रशासनिक जिम्मेवारी प्रदान गरिएको छ भने नीति तथा योजना आयोगका सचिव केशव प्रसाद सुवेदीलाई मुख्यमन्त्री कार्यालयको समेत जिम्मेवारी थप गरिएको छ ।

मन्त्रीपरिषद बैठकले केही समय अघि मात्रै खेलकुद मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तानिएका सचिव रुद्र प्रसाद लामिछानेलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

सबैभन्दा धेरै मन्त्रालय रहेको बागमती प्रदेशमा सचिव नहुँदा केहीलाई दोहोरो जिम्मेवारी दिईएको छ भने कतै निमित्त सचिवको भरमा चलिरहेको छ । संघीय सरकारले प्रदेशमा आवश्यक सचिव सरुवा गरेर नपठाउँदा मुख्यमन्त्री कार्यालय सहित अन्य मन्त्रालयहरुको काम प्रभावित भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका तीन सचिवसहित संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात, स्वास्थ्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव पद रिक्त रहेको छ । बागमती प्रदेशमा हालै मात्र मन्त्रालय विभाजन गरेर मन्त्रालयको संख्या १४ पु¥याईएको छ ।