काठमाडौं । वैदेशिक रोजगारीका लागि इराक गएकी सिन्धुपाल्चोककी एक महिलालाई १३ लाख रुपैयाँमा बिक्री गरेको खुलासा भएको छ ।
सिन्धुपाल्चोककी एलिजा लामा(नाम परिवर्तन)लाई मानव तस्करहरुले वैदेशिक रोजगारीका लागि इराक पठाउँदा बिक्री गरेको तथ्य खुलेको हो । बिना तलब ३ वर्षसम्म कठोर परिश्रम गरी स्वदेश फर्कन सफल ती युवतीले प्रहरीको उजुरी दिएपछि उनी बिक्री भएको तथ्य खुलेको हो । ४ लाख रुपैयाँ तिरेर इराक पुगेकी ती महिलाले आफूलाई काममा लगाएको घरको साहुले १० हजार अमेरिकी डलर अर्थात १३ लाख रुपैयाँमा किनेको जवाफ दिएपछि उनले आफू बिक्री भएको थाहा पाएकी थिइन् ।
ती महिलालाई सामाजिक सञ्जाल फेसबुकमार्फत मकवानपुरको भीमफेदी गाउँपालिकाका रामकुमार लोले आकर्षक तलब पाउने प्रलोभनमा पारी इराक पठाएका थिए । उनलाई नेपालबाट नयाँ दिल्ली र त्यहाँबाट जयपुर, दुबै हुँदै इराक पु¥याइएको थियो । इराक पुगेपछि पनि ६ महिनासम्म काममा नलगाएको र काम सुरु भएपछि पनि ३ वर्षसम्म तलब नदिएको पीडित महिलाले बताएकी छिन् । पिडित महिलाको उजुरीपछि प्रहरीले रामकुमारको खोजी र आवश्यक अनुसन्धान अघि बढाएको छ ।










