
जिरी (दोलखा) । पाँच महिनामा भारततर्फ १३ अर्ब भन्दा बढी बिजुली निर्यात भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्ब ४ करोड रुपैंया बराबरको विद्युत निर्यात भएको हो । चालु आर्थिक वर्षको साउन देखि मंसिरसम्म नेपालबाट भारततर्फ १३ अर्ब ४ करोड रुपैंयाको विद्युत निर्यात भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत भारततर्फ निर्यात गरिएको हो ।
निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैंया ३९ पैसा छ । प्राधिकरणले विद्युत बिक्री गरी ८ अर्ब १५ करोड भारु(१३ अर्ब ४ करोड रुपैैंया) आम्दानी गरेको छ । सबैभन्दा बढी साउन महिनामा ४ अर्ब १५ करोड रुपैंयाको विद्युत निर्यात भएको छ भने मंसिर महिनामा सबैभन्दा कम २८ करोड १४ लाख रुपैंयाको निर्यात भएको प्राधिकरणले जनाएको छ ।
यस्तै, भदौमा ३ अर्ब ६८ करोड , असोजमा ३ अर्ब ७ करोड र कार्तिकमा १ अर्ब ८७ करोड रुपैंयाको विद्युत भारत निर्यात गरिएको हो । गत असोजको दोस्रो साता आएको बाढी पहिरोका कारण माथिल्लो तामाकोशी जवविद्युतमा क्षति पुगेपछि विद्युत उत्पादन प्रभावित भएको प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिनुभयो । अहिले विद्युत निर्यात बन्द भएको छ भने आयात गरिएको छ ।