
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधी जनकपुर बोल्ट्सले जितेको छ ।
आज भएको फाईनल खेलमा सुदुरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधी जितेको हो । जनकपुर सुदुरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायरमा व्यहोरोको हारको बदला लिँदै च्याम्पियन बनेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पुरा गरेको हो ।
जनकपुरलाई च्याम्पियन बनाउनका लागि लाहिरु मिलान्थाको ८७ रन निर्णायक बन्यो । त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको सुदुरपश्चिमले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो । जनकपुरले सुदुरपश्चिमसँग लिग चरणमा ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले हार व्यहोरेको थियो ।
कुन टोलीलाई कति पुरस्कार ?
जनकपुरले उपाधीसँगै १ करोड १० लाख नगद पुरस्कार र ट्रफी हात पारेको छ । यसअघि दुई पटक जनकपुरलाई पराजित गरेको सुदूरपश्चिम फाइनलमा भने ५ विकेटले पराजित हुन पुगेको छ । पराजित सँगै दोस्रो स्थानमा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले ५१ लाख पुरस्कार पाउने छ ।
तेस्रो हुने कर्णाली याक्सले २५ लाख तथा चौथो हुने चितवन राइनोजले १५ लाख पाउनेछ । योसँगै क्यानले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता समाप्त भएको छ ।