images
images

मेलुङ गाउँपालिकामा अपाङ्गताको पहिचान, २७९ नागरिकले पाए परिचयपत्र

जिरी (दोलखा) । दोलखाको मेलुङ गाउँपालिकामा अपांङ्गता भएका करिब ३ सय नागरिकले परिचयपत्र पाएका छन् ।

मेलुङ गाउँपालिकाले २०७७ साल र २०७९ सालमा गरी पालिकाभित्रका २ सय ७९ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो । पालिका अध्यक्ष हिरा थोकरका अनुसार यसअघि अपाङ्गता परिचयपत्र लिन छुटेका र लिन बाँकी रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई अघिल्लो साता एक कार्यक्रमकाबीच परिचयपत्र वितरण गरिएको छ । जसअनुसार २०७९ सालमा क र ख वर्गका ५/५ जना, ग वर्गको १९ जना र घ वर्गका १० जना गरी ३९ जनालाई अपांङ्गता परिचयपत्र वितरण गरिएको मेलुङ गाउँपालिकाको महिला विकास शाखाकी सृजना बुढाथोकीले बताउनुभयोे । २०७७ सालमा क वर्गको ४९ जना, ख वर्गको ९५ जना, ग वर्गको ६९ जना र घ वर्गको २७ जनाले अपाङ्गता परिचयपत्र पाएका थिए ।

अपाङ्गता भएका व्यक्तिहरुले सरकारबाट उपलब्ध हुने सेवा सुविधा र अवसर सहजै पाउन् भन्ने उद्देश्यले अपांङ्गता परिचपत्र वितरण गरिएको मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जय शिवाकोटीले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा संयुक्त राष्ट्र संघले पारित गरी नेपाल सरकारले हस्ताक्षर समेत गरिसकेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धीको उद्देश्य, मर्म र भावना बमोजिम मेलुङ गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि परिचय–पत्र वितरण कार्यविधि बनाइएको थियो ।

सोही कार्यविधिको आधारणमा पालिकाभित्र अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवाकोटीले बताउनुभयो । अपांङ्गता भएका व्यक्तिलाई चार समुकहमा वर्गीकरण गरिएको छ । जसमा क वर्गमा पुर्ण असक्त अपंगता, ख वर्गमा अति असक्त, ग वर्गमा मध्यम अपंगता र घ वर्गमा सामान्य अपांङ्गता पर्दछन् । क वर्गको रातो र ख वर्गको निलो परिचयपत्र प्राप्त गरेका व्यक्तिहरुले क्रमशः मासिक २००० र १००० सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सुबिधा छ ।

कस्तो व्यक्तिलाई कुन कार्ड ?

व्यक्तिको शारीरिक वा मानसिक प्रणालीमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, पूर्ण रूपमा श्रवण–दृष्टिविहीन व्यक्तिहरू तथा आफैँ हलचल गर्न नसक्ने गरी पूर्ण रूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरूलाई “क” वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिनेछ । यो रातो रंगमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

यस्तै, निरन्तर अरूको सहयोग लिएर मात्रै दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षाघात भई वा मांशपेसी विचलन भई वा मस्तिष्क पक्षाघात भई कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियरको प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरामुनिको अङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिका अङ्ग नभएका वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोग गर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफैँ गर्न सक्ने तर सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरूले “ख” वर्गको परिचयपत्र पाउनेछन् । यो नीलो रंगमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

कृत्रिम अङ्गको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफैँ गर्नसक्ने, पोलियो भई घुँडामुनिको अङ्गमामात्र प्रभाव परेको, स्वतन्त्र रूपमा हिँड्डुल गर्नसक्ने शारीरिकरूपमा अपाङ्गता भएका व्यक्तिहरू, हत्केलाभन्दा मुनिका कम्तीमा बूढीऔँला र चोरऔँला नभएका तथा कुर्कुच्चा भन्दा मुनिको भाग नभएका, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, श्रवणयन्त्रको प्रयोगबाट मात्र सुन्नसक्ने सुस्त श्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने व्यक्तिहरू, तीव्र भकभके व्यक्तिहरू, तीन फिटमुनिका पुड्का व्यक्तिहरू, चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्तिहरू, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू, समूह “ग” को अपाङ्गता वर्गमा पर्दछन् । यो वर्गको परिचयपत्र पहेँलो रंगमा नीलो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

यसैगरी, शारीरिक अङ्गहरूमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्नसक्ने, न्यून दृष्टियुक्त व्यक्तिहरू, हत्केलामुनिका कम्तीमा बूढीऔँला र चोरऔँला भएका, खुट्टाको औँलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू “घ” वर्गमा पर्दछन् । यो वर्गको परिचयपत्र सेतो रंगमा कालो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।