images
images

बागमती प्रदेशमा मन्त्रालय घटाउने प्रतिवेदन आएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने

  • ८ माघ २०७९, आईतवार ०८:४३

हेटौंडा । बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् विस्तार माघ १० पछि मात्रै हुने भएको छ ।

प्रदेशका मुख्यमन्त्री शालिराम जम्मरकट्टेलले माघ १० गतेपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्नुहुने भएको हो । गत पुस २६ गते शपथ लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले १५ दिनभित्र मन्त्रालय घटाउने गरी प्रतिवेदन तयार पार्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । सो कार्यदलले माघ ९ सम्ममा प्रतिवेदन पेश गर्ने र १० गतेबाट मन्त्रीपरिषद् विस्तारको काम सुरु हुने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारले अहिले रहेका १४ वटा मन्त्रालयलाई घटाएर घटीमा ९ वटा र बढीमा ११ वटा बनाउने तयारी गरेको हो ।

कुन–कुन मन्त्रालय मर्ज गर्दा काम गर्न सहज हुन्छ भन्ने दृष्टिकोणले कार्यदल बनाएर काम गरिरहेको प्रदेश सरकारले जनाएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई सरकारमा प्रतिनिधित्व गर्नुपर्ने र मन्त्रालय पनि घटाउनुपर्ने बाध्यताकाबीच जम्मरकट्टेललाई मन्त्रिपरिषद विस्तारमा समस्या देखिएको छ । प्रदेशमा ११ वटा मन्त्रालय भएमा नेकपा एमालेले सभामुख र मन्त्रीमन्त्रि छोडेको भन्दै कम्नीमा पाँच वटा मन्त्रालयको दाबी गरेको छ ।

माओवादी पनि कम्तीमा चार वटा मन्त्रालय आफ्नो भागमा रहनुपर्ने अडानमा छ । राप्रपाले तीन, नेकपा एकिकृत समाजवादीले दुई तथा हाम्रो नेपाली पार्टीले एउटा मन्त्रालयमा दाबी गरेको छ । ११ वटा मन्त्रालयमा यी सवै दलको माग पुरा गरेर मन्त्रिपरिषद विस्तार गर्न मुख्यमन्त्री जम्मरकट्टेललाई समस्या हुने देखिएको हो ।