
जिरी (दोलखा) । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा दोलखामा माग भन्दा कम परीक्षार्थी पास भएका छन् ।
प्राथमिक तहको लागि दोलखामा २५१ पदका लागि भएको परीक्षामा २२३ जना मात्रै पास भएका हुन् । आयोगको तथ्यांक अनुसार लिखित परिक्षामा उतिर्ण भएकाहरुलाई गणना गर्दा दोलखामा अझै २८ पद रिक्त हुनेछ । दोलखामा मात्रै नभएर अन्य जिल्लामा पनि माग भन्दा धेरै कम परिक्षार्थी उतिर्ण भएका छन् । रामेछापमा १५४ पदका लागि भएको परीक्षामा ७१, सिन्धुलीमा २६५ पदका लागि भएको परीक्षामा २०६ जना मात्रै लिखित परिक्षामा सफल भएका छन् । सो नतिजालाई हेर्दा रामेछापमा अझै ८३ र सिन्धुलीमा ५९ पद रिक्त हुनेछ । आयोगले २०७८ साल चैत १९ गते र २०७९ असार १३ गते लिएको लिखित परीक्षाको नतिजा अनुसार माग गरेभन्दा धेरै कम परीक्षार्थी उतिर्ण भएको देखिएको छ । हालसम्म ५१ जिल्लाको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ । यसअघि माध्यमिक र निम्न माध्यमिक तहको शिक्षकको परीक्षामा पनि माग अनुसार परीक्षार्थी पास हुन सकेका थिएनन् ।
तर, अहिले मावि र निमाविको भन्दा भने सन्तोषजनक नतिजा आएको शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताउनुभयो ।