images
images

नेकपा एसले जिरी नगरपालिकालाई बुझायो ध्यानाकर्षण पत्र, डिपिआरमा अनियमितता भएको आरोप

  • ८ माघ २०८०, सोमबार १८:४७

जिरी (दोलखा) । बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउँदा अनियमितता भएको भन्दै नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले जिरी नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

जिरी नगरपालिकामा बिभिन्न योजनाको डिपिआर बनाउँदा अनियमितता भएको दावी गर्दै नेकपा एस जिरी नगर कमिटीले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको हो । नेकपा एस जिरी नगर कमिटीका अध्यक्ष मोहनकुमार खड्का सहितका नेता तथा कार्यकर्ता आज जिरी नगरपालिका पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै जग्गाको वर्गीकरण, ल्याण्ड फिल साइड निर्माण, कवर्ड हल, जिरी हाटडाँडा खेच्यार्ङ भोर्ले सडक, जेष्ठ नागरिक भवन र सोलार व्याट्री सम्वन्धी डिपिआर बनाउँदा भएको खर्च सहितको विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।

अध्यक्ष खड्काद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा जिरी नगरपालिकाको काम पारदर्शी नभएको, विकास निर्माण समानुपातिक रुपमा नभएको, खर्चमा मितव्ययी नभएको, अनियमितता भएको, अनावश्यक रुपमा डीपीआर निर्माण गरी भ्रष्टाचार गरेको लगायतका सुचनाहरु प्राप्त भएकोले एस जिरी नगरकमिटीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । नेकपा एसले १५ दिनभित्र डिपिआरमा भएको खर्च र त्यसको उपलव्धि सार्वजनिक नगरे नगरपालिकामा तालावन्दी सहित आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले उठेका र आरोप लगाइएका बिषयवस्तुहरु उपर जनप्रतिनिधिसँग छलफल गरेर आवश्यक सम्वोधन गर्ने प्रतिक्रिया दिनुभयो ।