images
images

जिरीका ५ सय १५ छात्रालाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाइँदै

  • ९ माघ २०८१, बुधबार २१:२९

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा ५ सय भन्दा बढी छात्राहरुलाई एचपिभी खोप लगाइने भएको छ ।

जिरी नगरपालिकाले कक्षा ६ देखि १० सम्म अध्ययनरत ५ सय १५ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ( ह्युमन प्यापीलोमा भाईसर) विरुद्धको खोप लगाउने भएको हो । आज एचपिभी खोप अभियान २०८१ पालिका खोप समन्यन समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण तथा पत्रकार अन्तरक्रिया गोष्ठि कार्यक्रम बोल्दै नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहालले जिरीका १० वटा विद्यालयका छात्राहरु र विद्यालय भन्दा बाहिरका ४ जना किशोरीलाई खोप लगाउने तयारी भएको बताउनुभयो ।

उहाँले माघ २२ गतेदेखि २४ गतेसम्म जिरीका सबै विद्यालयका छात्राहरुलाई सो खोप उपलब्ध गराइने बताउनुभयो । यस्तै जिरी अस्पतालका डा. नवराज कार्कीले एचपिभी खोपको बारे जानकारी गराउनु भएको थियो । उहाँले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको बताउनुभयो । उहाँका अनुसार असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको छ ।

कार्यक्रममा नगर प्रमुख मित्रबहादुर जिरेलले जिरीका सबै विद्यालयका छात्राहरुलाई एचपीभी खोप नछुटाईकन लगाउन आग्रह गर्नुभयो । उहाँले नगरबासीको स्वास्थको लागि जनप्रतिनिधिहरुले गर्नुपर्ने सहयोग गर्न आफुहरु तयार रहेको पनि बताउनुभयो । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सरकारले एकैपटक देशभरको छात्राहरुलाई खोप लगाउँदै छ । दोलखामा जिल्लाभर ६ हजार बढी छात्रालाई एचपिभी खोप लगाइँदैछ ।

आजको कार्यक्रममा नगरपालिकाका उपप्रमुख कृष्णमाया बढाथोकी खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, जिरी नगरपालिका वडा- १ का वडाध्यक्ष आङपासङ शेर्पा, वडा- ४ का अध्यक्ष पदेमान जिरेल, वडा- ५ का अध्यक्ष नर बहादुर जिरेल र वडा नम्बर ६ का अध्यक्ष मरिच बहादुर खड्का, युवा सञ्जाल जिरीका कोषाध्यक्ष इस्वर कार्की, कार्यपालिका सदस्यहरु तथा नगरपालिका कर्मचारीहरुको सहभागिता थियो ।