जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले ९ सय ६५ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिने भएको छ ।
यही फागुन १३ गतेदेखि सुरु हुने दादुरा–रुबेला विरुद्धको राष्ट्रिय खोप अभियान अन्र्तगत नगरपालिकामा करिब ९ सय ६५ जना बालबालिकालाई खोप दिइने भएको हो । खोप अभियानमा ९ महिनादेखी ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाइने छ । यसअघि खोप लगाउन छुटेका बालबालिकाहरुलार्ई पनि पुनः खोप लगाइने जिरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहालले जानकारी दिनुभयो ।
कुनै पनि बालबालिका दादुरा–रुबेला विरुद्धकोे खोपबाट वञ्चित नहोस भन्ने उद्देश्यले वडास्तरीय रुपमा स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । जनस्वास्थ्य अधिकृत दाहालका अनुसार खोप अभियानको लागि सबै वडामा स्वास्थ्यकर्मीहरुलाई टोलीबद्ध रुपमा खटाइनेछ । नगरप्रमुख मित्र बहादुर जिरेलले नगरभित्रका कुनै पनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिनका लागी सबै आ–आफ्नो स्थानबाट पहल गरिदिन आग्रह गर्नुभयो । दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी भइरहँदा जिरी नगरपालिकाले हिजो अभिमुखीकरण कार्यक्रम गरी सो बारे छलफल गरेको थियो ।










