images
images

कार्यसम्पादन मूल्यांकनमा दोलखाको स्थानीय तहमध्ये जिरी नगरपालिका पहिलो

  • १० फाल्गुन २०८०, बिहीबार १५:४७

दोलखा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा दोलखाको स्थानीय तहहरुमा जिरी नगरपालिकाले सबैभन्दा बढी अंक पाएको छ ।

आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्लाका ९ स्थानीय तहमध्ये जिरी नगरपालिकाले सबैभन्दा बढी अंक पाएको हो । कार्यसम्पादन मूल्यांकनमा जिरीले सबैभन्दा बढी ४२.८० प्रतिशत अंक पाएर उत्कृष्ट बनेको हो । यस्तै, दोस्रोमा जिल्लाको भीमेश्वर नगरपालिकाले ३८.९४ प्रतिशत अंक पाएको छ भने तेस्रोमा बैतेश्वर गाउँपालिकाले ३६.३६ प्रतिशत अंक प्राप्त गरेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा शैलुङ गाउँपालिकाले ३३.१७ प्रतिशत, तामाकोशी गाउँपालिकाले ३२.९३ प्रतिशत, गौरीशंकर गाउँपालिकाले २८.८१ प्रतिशत अंक पाएको छ भने मेलुङ गाउँपालिकाले २६.६० प्रतिशत र बिगु गाउँपालिकाले सबैभन्दा कम २५.९९ प्रतिशत अंक पाएको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यबिधि २०७८ को दफा ७ को अधीनमा रही आयोगले प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सुचकको मुल्यांकन गरी अंक प्रदान गरेको जनाएको छ । आगाम्री आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान दिनका लागि आयोगले विभिन्न सूचकका आधारमा स्थानीय तहहरुको मुल्यांकन गरेको हो । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्यांकन गरी नतिजा प्रकाशित गर्दैै आएको छ ।

स्थानीय तहले राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेश गरे÷नगरेको, गाउँ सभाबाट पारित गरे नगरेको, करवापत उठेको राजस्वको ४० प्रतिशत रकम प्रदेश सरकारलाई मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेको लगायतका सुचकका आधारमा कार्यसम्पादन मुल्यांकन गरेको हो । यस्तै, पालिकाले गरेको खर्च, बेरुजु, लेखापरिक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेका, सार्वजनिक सुनुवाई र सामाजिक लेखा परीक्षण गरे नगरेको लगायतका विषयमा मुल्यांकन गरिएको आयोगले जनाएको छ । आयोगले स्थानीय तहका विद्यार्थीको शैक्षिक र स्वास्थ्य अवस्थाको सूचकलाई पनि हेरि कार्यसम्पादन मुल्यांकन गरेको हो ।