
पोखरा । नेपाली सेनाको क्याप्टेन हुँ भनी ठगी गरेको आरोपमा ओखलढुंगाका एक पुरुष पोखराबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आफू नेपाली सेनाको क्याप्टेन रहेको र विभिन्न सैन्य पदमा भर्ती गरिदिने भन्दै रकम ठगी गरेको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका १० अमरसिंह चोकमा बस्दै आएका ३८ वर्षिय धनबहादुर परियारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार आफूहरू ठगिएको भन्दै ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ४ की २८ वर्षीया सिर्जना तामाङ, सिद्धिचरण गाउँपालिका ४ की ३५ वर्षीया सरिता खड्का र बैदेश्वर गाउँपालिका ३ का ५२ वर्षीय अर्जुन बस्नेतको जाहेरीको आधारमा धनबहादुरलाई पक्राउ गरिएको हो ।
अभियुक्तले आफू नेपाली सेनाको क्याप्टेन रहेकोमा हाल शान्ति मिसनको लागि विदेशमा रहेको र आफूसँग सेनाका ठूला मानिससँग चिनजान रहेको बताउने गरेको पाइएको प्रहरी उपरिक्षक तिवारीले बताउनुभयो ।