दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकाले शिक्षक सेवा आयोगको परिक्षाका लागि ६ दिन पालिकाभरका सबै विद्यालय बन्द गर्ने भएको छ ।
गाउँपालिकाको शिक्षा समितिको आज बसेको बैठकले चैत १३ गतेदेखि १८ गतेसम्म पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिकाका शिक्षा शाखा अधिकृत ऋषिराज ज्ञवालीले हस्ताक्षर गरी जारी गरेको सुचनामा शिक्षक सेवा आयोगले सञ्चालन गर्ने मावि, निमावि र प्रावि तहको परिक्षामा अधिकांश शिक्षकहरु सहभागी हुने भएकाले ६ दिन विद्यालय बन्द हुने उल्लेख छ । पालिका अन्र्तगत सञ्चालित सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा वर्षे विदाबाट सोधभर्ना हुनेगरी ६ दिन विद्यालय बन्द गरिएको सुचनामा उल्लेख छ । दोलखामा शिक्षक सेवा आयोगको परिक्षाकै लागि पालिकाका सवै विद्यालय बन्द गर्ने वैतेश्वर गाउँपालिका पहिलो पालिका हो ।