images
images

बागमती प्रदेशका मुख्यमन्त्रीको विश्वासको मत अन्यौलमा

  • ८ चैत्र २०७९, बुधबार ०९:२२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भनिएपनि अन्यौलता देखिएको छ ।

सत्तारुढ गठबन्धन दलहरुबीच समझदारी कायम हुन बाँकी रहेका कारण मुख्यमन्त्रीले विश्वासको मत लिने सम्भावना कम देखिएको हो । स्रोतका अनुसार मुख्यमन्त्री जम्कट्टेलले चैतको १० वा ११ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । बागमती प्रदेशमा नेपाली कांग्रेसको सवैभन्दा बढी ३७ जना सांसद छन् । सांसद संख्या बढी भएका कारण बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले पनि दावि गरेको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेपनि कांग्रेस विश्वासको मत दिने भन्दा पनि सरकारको नेतृत्व गर्ने आन्तरिक तयारीमा जुटेको छ ।

प्रदेशसभाको सवैभन्दा ठुलो दलको रुपमा रहेको कांग्रेस सरकारको नेतृत्वका लागि दावि गरिरहेको छ । मुख्यमन्त्री जम्कट्टलले चैत १३ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिएर प्रदेश सरकारलाई पुर्णता दिने मुख्मन्त्रीको तयारी छ । तर कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव केहीदिन पर सार्न प्रस्ताव गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक कुन्दनराज काफ्लेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर केन्द्रिय सहमति अनुसार सत्ता भागबन्डाको टुंगो लाग्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

सोही कारण मुख्यमन्त्रीले आज लिने भनेको विश्वासको मत अन्योलमा परेको छ । यता, नेकपा माओवादी केन्द्र बागमती प्रदेशमा प्रमुख सचेतक रत्न ढकालले मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यतालिका अहिलेसम्म परिवर्तन नभएको र कांगेस संसदीय दलको बैठकबाट सकरात्मक निर्णय आउने अपेक्षा गरिएको बताउनुभयो । तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिनुपर्ने भएको हो ।