images
images

दोलखा दुग्ध उद्योग लिमिटेडको आत्मनिर्भरको पहिलो प्रयास

  • ८ चैत्र २०७९, बुधबार १२:४९

दोलखा । दोलखा दुग्ध उद्योग लिमिटेडबाट संकलित दुध, पाउडर कन्भरसेसनका लागि खरिपाटी डेरी भक्तपुर पठाउन सुरु गरिएको छ ।

उद्योगमा संकलित दुधबाट बाँकी रहेको दुध (धुलो दूध) अर्थात् पाउडर कन्भरसेसनका लागि फागुनको दोस्रो साताबाट खरिपार्टी डेरी भक्तपुर पठाउन सुरु गरिएको हो । उद्योगले खरिपाटी डेरी भक्तपुरको ट्याङ्कर मार्फत् कच्चा दुध पठाउँदै आएको छ । हालसम्म २० हजार लिटर कच्चा दुध पठाएकोमा त्यसबाट १३ सय केजि पाउडर कन्भरसेसन गरिएको दोलखा दुग्ध उद्योग लिमिटेडले जनाएको छ । सरकारले बाह्य मुलुकबाट पाउडर दुुध आयातमा प्रतिबन्ध लगाएपछि दोलखा दुग्ध उद्योगले आत्मनिर्भरको प्रयास आफैबाट सुरु गरेको उद्योगका प्रबन्ध सञ्चालक सुरेन्द्र यादबले जानकारी दिनुभयो । उहाँले सुख्खा मौसममा बजारको मागलाई परिपूर्ति गर्न र आयातित बस्तुलाई प्रतिस्थापनका लागि खरिपार्टी डेरी भक्तपुरमा धुलो अर्थात् पाउडर दुध बनाउनका लागि कच्चा दुध पठाउन लागिएको बताउनुभयो । बजारमा पाउडर दुधको अभाव भैरहेकाले आफुले नै उत्पादन गरेर राख्दा थप सहज हुने भएकाले यो विधि अपनाईएको उहाँको भनाई छ ।

सरकारले तोकेको मापदण्ड अनुसार स्किम्ड मिल्क अर्थात् घ्यु निकालेको पाउडर दुध लामो समयसम्म राख्न सकिने भएकाले उद्योगले सो प्रक्रिया अघि बढाएको हो । यसलाई सुख्खा मौसममा प्रयोग गर्न सकिन्छ । पाउडर दुधको बजार मुल्य प्रतिकेजी ६ सय रुपैयाँ पर्दछ । दोलखा दुग्ध उद्योग लिमिटेडले दैनिक ५ हजार लिटर दुध संकलन गर्दै आएको छ । उद्योगवाट दुध, दहि, मोही, घ्यु, चिज, खुवा, पेडा लगायतका परिकार उत्पादन हुँदै आएको छ । उद्योगले पनिर, घ्यु बाहिर निर्यात गर्दै आएको छ । जसअनुसार मासिक २ हजार २ सय केजि पनिर, १८ सय केजी घ्यु बाहिर निर्यात हुँदै आएको छ भने पेडा मासिक २ सय देखि ३ सय केजी जिल्लामा खपत हुने गरेको छ ।

उद्योगवाट उत्पादित दुध चरिकोट र दोलखाकै अन्य बजारमा स्ट्यान्र्डर दुध प्रतिलिटर १०० रुपैयाँ र दहि १ सय ४० रुपैयाँमा बिक्रि गर्दै आएको छ । उद्योगले भने फ्याटको मात्राको आधारमा दुधको मुल्य किसानलाई दिने गरेको छ । यसअघि दुधको मुल्य प्रतिलिटर ८८ रुपैयाँ र दही १ सय २० रुपैयाँमा बिक्री हुँदै आएको थियो । उद्योगले मुल्य बढेसँगै दुध र दहीको नयाँ मुल्य निर्धारण भएपनि अन्य परिकारको भने मुल्य निर्धारण गरेको छैन । दोलखा दुग्ध उद्योगले जिल्लाको उत्तरी क्षेत्र, सिगंटी, लादुक, भीमेस्वर नगरपालिका, बोच, च्यामा, जफे, मालु र सुष्पाक्षमावतिमा सँकलन केन्द्र स्थापना गरी दुध सँकलन गर्दै आएको छ ।