दोलखा । यो वर्षको माध्यमिक शिक्षा परीक्षा -एसईई) मा दोलखाबाट २ हजार ३२२ परिक्षार्थी सहभागी हुने भएका छन् ।
यही चैत १९ गतेबाट सुरु हुने एसईईमा दोलखाबाट ९५ वटा विद्यालयका २ हजार ३२२ परिक्षार्थी सहभागी हुने भएका हुन् । जसअनुसार नियमिततर्फ १ हजार ९१४, ग्रेडबृद्धितर्फ ३५८ र प्राविधिक धारतर्फ ५० जना सहभागी हुनेछन् ।
यो वर्षको एसईई परीक्षामा छात्रा १२ सय ८४ र छात्र १ हजार ३८ गरी कुल २ हजार ३२२ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख भरत बहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार एसईईमा ८३ वटा सामुदायिक, ११ वटा संस्थागत र एउटा खुला बिद्यालयबाट परीक्षार्थीहरु सहभागी हुँदैछन् ।
सामुदायिक विद्यालयबाट १ हजार ७१९ परीक्षार्थी
जिल्लाका सामुदायिक विद्यालयबाट ९६६ जना छात्रा र ७५३ छात्र गरी कुल १ हजार ७१९ जना परीक्षार्थी सहभागी हुने ईकाई प्रमुख भट्टराईले बताए । संस्थागततर्फ ११ वटा बिद्यालयबाट १२४ जना छात्र र १२२ छात्रा गरी २४६ जना परीक्षार्थी सहभागी हुनेछन् ।
दोलखामा खुला विद्यालयबाट १४ जना परीक्षार्थीले परीक्षा दिनेछन् । जसमध्ये ६ जना छात्र र ८ छात्रा रहेका छन् । यस वर्षको एसईई परीक्षाका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाले जनाएको छ ।
परीक्षा यही चैत १९ गतेदेखि सुरु भएर २९ सम्पन्न हुने छ । गत वर्ष दोलखाबाट २ हजार ८३२ परीक्षार्थी सहभागी भएका थिए ।



हाम्रो अपडेट 






