भक्तपुर । मकवानपुरमा पहिलो पटक स्थानीय तहबाटै करदाता सेवा सुरु भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिकाबाट करदाता सेवा सुरु भएको हो । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिकाले जिल्लामै पहिलो पटक व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी तथा अन्य करदाता सेवा सुरु गरेको छ ।
आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख युक्तप्रसाद सुवेदी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीबीच समझदारीपत्रमा हस्ताक्षर गरी सेवाको औपचारिक सुरुवात गरिएको हो । संघीय सरकारले गत कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने निर्णय गरेको थियो ।
अब गाउँपालिकाबाटै प्यान जारी हुने
जिल्लाका करदाता सेवा कार्यालय खारेज गर्दै स्थानीय तहबाटै सेवा प्रदान गर्ने संघीय सरकारको निर्णय अनुसार मकवानपुरमा पहिलो पटक स्थानीय तहमार्फत सेवा सुरु गरिएको हो । अब गाउँपालिकाबाटै व्यक्तिगत र व्यावसायिक स्थायी लेखा (प्यान) नम्बर जारी हुनेछ भने व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बरमा रुपान्तरण सम्बन्धी कार्य पनि हुनेछ ।
यस्तै आयकर दर्ता तथा स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधित कार्य पनि गाउँपालिका कार्यालयबाटै हुने जनाइएको छ। मनहरी गाउँपालिकामा करदाता सेवा प्रदान गर्न गाउँपालिकाका तीन जना कर्मचारीलाई आन्तरिक राजस्व कार्यालय हेटौँडाले तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापनसमेत गरिसकेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।



हाम्रो अपडेट 






