images
images

दोलखामा पनि देखियो लम्पी स्किन, करिब १ दर्जन पशु संक्रमित

  • ८ जेष्ठ २०८०, सोमबार १५:२८

दोलखा । नेपालका बिभिन्न जिल्लामा फैलिएको लम्पी स्किन दोलखामा देखापरेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका र तामाकोशी गाउँपालिकामा लम्पी स्किन देखापरेको हो । भीमेश्वर नगरपालिकाको वडा नम्बर ८ बोच र तामाकोशी गाउँपालिकामा लम्पी स्किनबाट पशुहरु बिरामी परेका हुन् । भीमेश्वर नगरपालिकामा हालसम्म करिब सात वटा गाईभैँसीमा लम्पी स्किन देखापरेकोमा ५ वटा उपचारपछि निको भएका छन् । तामाकोशी गाउँपालिकामा लम्पी स्किन देखापरेका ४ वटा गाईँभैँसीको अहिले उपचार भैरहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चरिकोटका निमित्त कार्यालय प्रमुख पलट चौधरीले जानकारी दिनुभयो । बोचमा रहेका पशुहरुलाई लम्पी स्किन भएको आशंकामा गत चैत्र १६ गते संक्रमित पशुको रगत र पिपको नमुना संकलन गरेर परीक्षणका लागि केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँमा पठाईएकोमा २२ गते संक्रमण पुष्टि भएको थियो ।

गाईभैँसी बढी संक्रमित

संक्रमित पशुलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटका प्राबिधिकहरुको सहयोगमा नेपाल सरकारबाट प्राप्त औषधी निशुल्क वितरण गरिएको थियो । लम्पी स्किनको संक्रमण विशेषगरी गाईभैँसीमा देखिने गर्दछ । यो रोग लागेमा गाईँभैँसीमा उच्च ज्वरो आउने, शरीरमा गिर्खा देखिने, दुध उत्पादन घट्ने, संक्रमित पशुले ¥याल, सिगान बगाउने, तौल घट्ने लगायतका लक्षण देखापर्दछ ।

संक्रमण देखिनेबित्तिकै खबर गर्न आग्रह

यस्तै आधिकांश गर्भिणी गाईभैँसी तुहिने सम्भावना हुन्छ । गाईभैँसीलाई हुने संक्रामक रोग लम्पी स्किन लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता किराको टोकाईबाट सर्ने गर्दछ । नेपालमा हालसम्म १५ हजार भन्दा बढी गाईभैँसी लम्पी स्किन रोगबाट प्रभावित बनेका छन् । मुलुकको ३५ जिल्लामा फैलिएको लम्पी स्किन रोगबाट १५ हजार भन्दा बढी पशुहरु प्रभावित बनेका हुन् । कुनै पनि पशुलाई लम्पी स्किनको आशंका लागेमा पशु सेवा बिज्ञ केन्द्र चरिकोटमा आएर खबर गरेमा प्राबिधिक टोली खटिने व्यवस्था मिलाईएको निमित्त प्रमुख चौधरीले बताउनुभयो ।