images
images

भीमेश्वर नगरपालिकाले ल्यायो ‘जनसंख्या बृद्धि’ को कार्यक्रम, तेस्रो सन्तानदेखि १० हजार पाउने

  • ८ असार २०८१, शनिबार १९:३७

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ मा सन्तान बृद्धिको कार्यक्रम ल्याउने भएको छ ।

भीमेश्वर नगरपालिकाले गाउँ वस्तीहरु पातलिँदै गएको भन्दै सन्तान बृद्धिको कार्यक्रम ल्याउने भएको हो । आज भएको पाँचौं नगरसभामा उपप्रमुख कमला बस्नेतले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामि आर्थिक वर्षदेखि ‘तेस्रोदेखिको सन्तान, भीमेश्वरको वरदान’ उज्यालो भविष्य कार्यक्रम ल्याउने बताउनुभयो । यो कार्यक्रम लागु भएपछि भीमेश्वर नगरपालिकाका बासिन्दाले तेस्रो सन्तान जन्माउँदा देखि १० हजार रुपैयाँका दरले बैँक खाता प्राप्त गर्ने छन् ।

जन्मदर घट्दै गएका कारण भर्ना दर घटेर सामुदायिक विधालयहरुमा विधार्थी अभाव भएको तथा गाउँ वस्तीमा समेत मानिसको संख्या पातलो हुँदै गएका कारण यस्तो कार्यक्रम ल्याउन लागिएको उप प्रमुख बस्नेतले बताउनुभयो । नीति तथा कार्यक्रममा बस्ती जोगाउन तथा मानव संख्या बढाउन जनसंख्या बढाउनुको विकल्प नभएको उल्लेख छ । नगरपालिकाले आगामी आर्थिक वर्ष दिगो आम्दानी र स्वस्थ जीवन, जैविक कृषि उत्पादन भन्ने सोचका साथ नगरलाई जैविक र व्यवसायिक कृषिमा अग्रणी नगरको रुपमा विकास गर्ने नीति लिने भएको छ । कृषि योग्य क्षेत्र पहिचान गरी कृषि पकेट क्षेत्र तोकिने र हाल निर्धारण गरिएका पकेट क्षेत्रलाई बिस्तार गर्दै लैजाने नगरको योजना छ ।

भीमेश्वर नगरपालिकाले ‘एक वडा, एक पशुसेवा प्राबिधिक’ व्यवस्था गर्ने नीति अनुरुप सबै वडामा पशु स्वास्थ्य जनशक्तिको व्यवस्था गरी गोठबारीमा नै पशुसेवा उपलब्ध गराउने योजनालाई नीति तथा कार्यक्रममा समेटेको छ । आगामी आर्थिक वर्ष नगरपालिकाले ‘गुणस्तरीय सडक, सुरक्षित यातायात’ भन्ने सोचलाई सार्थक बनाउन दिगो सडक पूर्बाधार बिस्तार गरी नगरवासीलाई भरपर्दो र सुरक्षित यातायातको पहुँच बृद्धि गर्ने नीति लिने भएको छ । नगर यातायात गुरुयोजनाले निर्धारण गरेका प्राथमिकता तथा वृहत नगर योजना अनुसार यातायातका पूर्बाधार र सेवाका कार्यक्रम समयबद्ध रुपमा कार्यान्वयन गरिने छ ।

भीमेश्वर नगरपालिकाले तामाकोशी तेस्रो जलबिद्युत आयोजनाको निर्माण कार्यलाई समयमा नै सुरु गर्नका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरको अध्यक्षतामा सम्पन्न नगर सभामा उपप्रमुख बस्नेतद्धारा प्रस्तुत नीति तथा कार्यक्रम छलफल पछि संशोधन सहित पारित गरिएको छ ।