बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्यले दाबी पेश गरेका छन् ।
नेकपा एमाले संसदीय दलका उपनेता आचार्यले ५६ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । आचार्यले एमालेका २९ र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका छन् । एमालेसंसदीय दलका नेता लीला गिरी भएपनि अन्तिममा आएर आचार्यलाई मुख्यमन्त्री बनाउन केन्द्रबाट निर्देशन भएको थियो । अर्घखाँची १ क बाट निर्वाचित सांसद आचार्य यसअघि आर्थिक मामिला तथा योजनामन्त्री रहेका थिए । ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ मत आवश्यक पर्नेछ ।
लुम्विनी प्रदेशमा सरकार गठनका लागि दावी पेश गर्न आज साँझ ६ बजेसम्मको समय दिईएको थियो । नेकपा माओवादी केन्द्रका जोखबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।