जिरी (दोलखा) । माथिल्लो तामाकोशी जलजिद्युत आयोजनाको ड्याम साइडमा फेला परेको शवको पहिचान खुलेको छ ।
ड्याम साइडमा गोताखोरको टोलीले फेला पारेको शवको पहिचान खुलेको हो । सो शव बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय रविन कार्कीको रहेको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । गत असार ७ गतेदेखि विगु गाउँपालिकाको देउरालीबाट लडेर बेपत्ता भएका कार्कीको हिजो शव फेला परेको होे । उनी विगु गाउँपालिकास्थित देउराली सडक निर्माणका लागि बाजुरादेखि दोलखा आएका थिए । तर, २ महिना अघि सडक निर्माणकै क्रममा लडेर बेपत्ता भएका थिए ।
ड्याम साइडमा गत साउन २२ गतेदेखि बेपत्ता भएका रामेछापका रमेश बस्नेतको खोजीकार्य भइरहँदा कार्कीको शव फेला परेको दोलखा प्रहरीले जनाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिकाका बस्नेत पनि बोटिङ गर्ने क्रममा साउन २२ गतेदेखि ड्याम साइडमा बेपत्ता छन् ।










