images
images

दोलखाका दुई जना मिटरव्याजी पीडीतले दिए प्रशासन कार्यालयमा उजुरी

  • ६ भाद्र २०७९, सोमबार १७:३८

दोलखा ।चर्को व्याजमा ऋण दिएर विचल्ली बनाएको भन्दै दोलखामा दुई जना पीडीतले उजुरी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय दोलखामा दुई जना पीडीतले मिटरव्याजमा ऋण लिएर चर्को व्याज लिएको भन्दै उजुरी दिएका हुन् । साहुले चर्को व्याजमा ऋण दिने र नतिरेको भन्दै घर, जग्गा नै हडपेपछि पीडीतले काठमाडौंको माईतीघर मण्डलामा आएर पटक–पटक प्रर्दशन गरेपछि सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले देशभरबाट मिटरब्याज पीडीतलाई उजुरी दिन आह्वान गरेकोमा दोलखामा दुई जनाको उजुरी परेको हो । आईतबारसम्म उजुरी दिने समय तोकिएकोमा तोकिएको समयभित्र जिल्लामा दुई जना पीडीतको उजुरी परेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा प्राप्त भएका उजुरी गृह मन्त्रालयमा पठाउने तयारी भइरहेको छ । उजुरीकर्ताको परिचय भने खुलाइएको छैन । सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयमा उजुरी आह्वान गरेकोमा देशभरबाट १८ सय ३२ वटा उजुरी परेको थियो । जस अनुसार बागमती प्रदेशमा मात्रै ३ सय ५८ वटा उजुरी परेको छ । उजुरी आइसकेपछि सरकारले सबैभन्दा प्रभावित स्थानमा गएर स्थलगत अध्ययन र छानविन गर्ने तयारी गरेको छ ।