images
images

यस्ता योग्यता भएका नेपालका नर्स शुन्य लागतमा बेलायत जान पाउने

  • ६ भाद्र २०७९, सोमबार १८:३१

काठमाडौं । बेलायतमा नेपाली नर्स लैजाने विषयमा सम्झौता भएको छ ।

नेपाल सरकार र बेलायत सरकारबीच स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी विषयमा द्धिपक्षिय श्रम सम्झौता भएको हो । राजधानीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले हस्ताक्षर गरेका हुन् । समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्धत पुग्ने विश्वास लिइएको छ । बेलायतसँग श्रम समझादारी सम्पन्न भएसँगै रोजगार गन्तव्यको विविधिकरणमा नयाँ कोशेढुंगा थपिएको छ ।

यसअघि नेपालको वैदेशिक रोजगारीको दायरा खाडी र मलेसिया लगायतको मुलुकमा सिमित थियो । दुई देशबीच भएको समझदारी अनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकारी बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ । रोजगारीका लागि बेलायत जान चाहने नेपाली राहदानी बाहक स्वास्थ्यकर्मीको उमेर २० देखि ४५ वर्ष बीचको हुनुपर्नेछ । त्यस्ता जनशक्तिले निश्चित शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ । स्टाफ नर्सका रुपमा काम गर्दै आएको, नर्सिङमा स्नातक उत्तीर्ण वा नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट नर्सिङमा स्नातकोत्तर भएको हुनुपर्नेछ । नेपाल नर्सिङ काउन्सिलबाट व्यावसायिक लाइसेन्स लिएको र कम्तीमा दुई वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । अङ्ग्रेजी भाषामा दक्ष हुनुपर्नेछ । अङ्ग्रेजी भाषा परीक्षामा कम्तीमा ६ दशमलव ५ नम्बर ल्याउनुपर्नेछ । छनोट चरण उत्तीर्ण गर्ने व्यक्तिले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । शून्य लागतमा स्वास्थ्य क्षेत्रका जनशक्ति बेलायतमा रोजगारीका लागि जान पाउनेछन् ।