images
images

मकवानपुरको बलवान भैंसी, जसले बाघ मारिदियो

  • ६ भाद्र २०८१, बिहीबार ०८:५८

मकवानपुर । मकवानपुरमा भैँसीले हान्दा बाघ मरेको छ ।

आज बिहान सवा ३ बजे मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो । यस्तै, गोठमा बाँधिएको भैँसी घाइते भेटिएको छ । भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । मृत बाघलाई अहिले चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर गएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाघ बुढो, असाध्यै दुब्लो र कमजोर थियो । भैँसीलाई आक्रमण गर्न खोज्दा उसलाईनै भैँसीले हानेर मारिदिएको जस्तो देखिएको चितवन निकुञ्जको सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरले बताउनुभयो । बाघको आयु करिब १५ वर्ष हुन्छ ।

घटनास्थलमा मृत भेटिएको भाले बाघको घाँटीभन्दा तल्लो भागमा चोट लागेको छ । भैसीलाई पनि चोट लागेको देखिएको छ ।