दोलखा । हिमाली जिल्ला दोलखामा आज बृहत लाखे नाच देखाइने भएको छ ।
दोलखासहित देशका विभिन्न स्थानका नेवार समुदायले आज सदरमुकाम चरिकोटमा बृहत लाखे नाच प्रदर्शन गर्न लागेका हुन् । आज बिहान ११ बजे चरिकोटस्थित पुरानो बजारबाट सुरु हुने लाखे नाच चरिकोट बजारमा दिनभर प्रदर्शन गरिनेछ । संस्कृतिको आदान प्रदान तथा धार्मिक पर्यटन प्रवर्धनका लागि चरिकोटमा बृहत लाखे नाच प्रदर्शन गर्न लागिएको हो । दोलखाको चरिकोट पुरानो बजारका नेवार समुदाय र ऐतिहासिक तथा प्राचिन सहर दोलखाका नेवार समुदायले विशेष लाखे नाच देखाउनेछन् ।
त्यस्तै, काठमाडौँको मच्छेगाउँ, ललितपुरको पाटन, रामेछापको भंगेरी, चिसापानी र मन्थली तथा सुनसरीको धरान, ओखलढुंगा र नुवाकोटबाट आएका संस्कृति कलाकारहरुले पनि लाखे नाच देखाउने छन् । भीमेश्वर नगरपालिकाको सहयोगमा लालिगुँरास युवा क्लवको आयोजनामा चरिकोटमा बृहत लाख नाच प्रदर्शन गर्न लागिएको हो । क्लवका अध्यक्ष पविन श्रेष्ठका अनुसार पुरानो बजारबाट सुरु हुने लाखे नाच चरिकोट सातदोबाटोमा पालैपालो देखाइने छ ।