दोलखा । करिब एक महिनादेखि अबरुद्ध दोलखा–सिंगटी सडकको झमार्सी सडक खण्ड सुचारु भएको छ ।
साउन १२ गते राती गएको बाढी पहिरोबाट अवरुद्ध बनेको सडक करिब एक महिनापछि सुचारु भएको हो । झमार्सी खोलामा आएको बाढीले बगाएको सडकको ग्याबिन पर्खाल र भासिएको सडक मर्मत सम्पन्न भएसँगै यातायात सुचारु भएको सडक डिभिजन कार्यालय दोलखाले जनाएको छ । कार्यालयले सडक मर्मत सम्हारका लागि साँढे २० लाखको लागतमा ठेक्का आह्वान गरी निर्माण गरेको हो । सडक निर्माण सम्पन्न भएसँगै मालवाहक ठुला सवारी साधन बाहेक बोलेरो, सुमो, मोटरसाईकल, यात्रुबाहक बस, ईभि भ्यान, एम्बुलेन्स लगायत सवारी साधनहरु सुचारु भएका हुन् ।
सडक डिभिजन कार्यालय चरिकोटका ईन्जिनियर भरत श्रेष्ठले सडक निर्माण कार्य सम्पन्न भएसँगै हिजो बेलुकीबाट हलुका यातायातका साधन आवतजावत भएको बताउनुभयो । यद्यपि लगातारको बर्षाले सडक हिलो हुँदा मालवाहक सवारीका साधन आवतजावतमा केही समस्या भएकाले बालुवा, गिट्टीले ग्राभेल गर्ने काम भैरहेको ईन्जिनियर श्रेष्ठले बताउनुभयो ।
सडक अवरुद्ध भएपछि दोलखाको उत्तरी क्षेत्रका बासिन्दालाई यात्रा गर्न तथा दैनिक उपभोग्य सामान र निर्माण सामाग्रि समेत ढुवानी गर्न निकै समस्या भएको थियो ।दोलखा सदरमुकाम चरिकोट र जिल्लाका उत्तरी व्यापारिक बजार सिंगटीलाई जोड्ने सडक करिब एक महिना अवरुद्ध हुँदा दोलखाको उत्तरी क्षेत्रको जनजीवन प्रभावित बनेकोे थियो ।