दोलखा । पछिल्लो समय सुनसान बनेको दोलखा सदरमुकाम चरिकोटमा आज निकै भीडभाड देखिएको छ ।
सुनसान चरिकोटमा बृहत लाखे नाच प्रदर्शनले चहलपहल बढाएको हो । राजनीतिक दलको सभा समारोहमा पनि नदेखिने गरेका सर्वसाधारणले आज सदरमुकाम चरिकोट भरिभराउ देखिएको हो । जनमानसको भीडले चरिकोटमा केही समय सवारी साधन आवागमन समेत रोकिएको थियो ।
दोलखा सदरमुकाम चरिकोटमा आज प्रदशर्न गरिएको बृहत लाखे नाच हेर्नका लागि ठुलो संख्यामा मानिसहरु आएका हुन् । चरिकोटमा दोलखासहित विभिन्न चार जिल्लाको लाखे नाच प्रदर्शन गरिएको हो । जिल्लाको चरिकोट, जिरी र लापिलाङको लाखे नाच प्रस्तुत गरिएको छ भने काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित मच्छेगाउँ, रामेछापको भंगेरी, मन्थली र चिसापानी तथा काभ्रेपलाञ्चोकको धुलिखेलबाट आएका सांस्कृतिक टोलीले लाखे नाच प्रस्तुत गरेका छन् । पुरानोबजारबाट सुरु भएको लाखे नाच दिनभर चरिकोटस्थित सातदोबाटोमा प्रदर्शन गरिएको थियो ।
भीमेश्वर नगरपालिकाको सहयोग र लालिगुँरास युवा क्लवको आयोजनामा चरिकोटमा आज बृहत लाखे नाच प्रदर्शन गरिएको हो । बृहत लाखेनाच कार्यक्रमको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले उद्धघाटन गर्नुभएको थियो । संस्कृतिको आदानप्रदान तथा धार्मिक पर्यटन प्रवर्धनका लागि चरिकोटमा बृहत लाखे नाच प्रदर्शन गरिएको लालिगुँरास युवा क्लव चरिकोटका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संस्कृति आदानप्रदानका क्रममा दोलखा चरिकोटको टोली आगमी भदौ १४ र १५ गते लाखे नाच प्रदर्शनका लागि मच्छेगाउँ जाने भएको छ ।