काठमाडौँ । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश परामर्श समिति बैठकले सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न बागमती प्रदेश परामर्श समितिको बैठकले देश र जनताको जल्दाबल्दा विषयमा सदन र सडकमा प्रभावकारी रुपमा उत्रिने निर्णय गरेको हो । बैठकमा धारणा राख्ने बागमती प्रदेशका ८२ जना नेता तथा कार्यकर्ताले जनताको कार्यसूचीमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । हिजोबाट सुरु भएको बैठकमा बागमती प्रदेशका नेता तथा कार्यकर्ताले पार्टीको समग्र अवस्था, आगामी दिनको भूमिका, जनपरिचालन, सङ्गठन निर्माण लगाएयतका विषयमा धारणा राखेका थिए ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले निर्वाह गर्ने भूमिका तथा सङ्गठन विस्तार लगायतका विषयमा धारणा राख्नुभएको छ । बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तयारी सहित नेतृत्व हस्तान्तरण हुने बताउनुभएको छ । लामो कालखड्ण्ड गुजारेर नेतृत्व स्थापित हुने भन्दै उहाँले विना तयारी आफुले छाड्नेवित्तिकै नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भईहाल्छ भन्ने नभएको बताउनुभयो । अध्यक्ष प्रचण्डले पार्टीका उपमहासचिव जनार्दन शर्माको प्रस्ताव विभाजनका लागि नभई पार्टी निर्माणका लागि भएको विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डविरुद्ध लिखित रुपमा फरक मत पेश गरेका नेता जनार्दन शर्माको बागमती प्रदेशस्तरीय बैठकमा चर्काे आलोचना भएको थियो । प्रदेश तहका केही नेताहरुले भने पार्टी नेतृत्वको कार्यशैलीप्रति पनि प्रश्न उठाएका छन् ।
माओवादी केन्द्रले पार्टीको केन्द्रीय समितिको पुर्ण बैठक अघि बोलाएको प्रदेश परामर्श समितिको बैठकमा बागमती प्रदेश अन्र्तगतका केन्द्रीय समिति सदस्य तथा प्रदेश पदाधिकारीहरु सहभागि थिए ।