images
images

बाँकेको बालसुधार गृहमा झडप हुँदा एकको मृत्यु, चार गम्भीर घाईते

  • ५ आश्विन २०८०, शुक्रबार १०:४४

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् ।

बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका मृतक केसी कपिलवस्तु रुद्रपुरका हुन् ।

झडपमा १० जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्ज र भेरी अस्पतालमा उपचार भइरहेको छ। ती मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रहरीले जनाएको छ । बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । प्रहरीले सुधार गृह तोडफोड गर्ने २५ जनालाई नियन्त्रणमा लिएको छ । पछिल्लो पटक लागुऔषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधारगृहमा रहेका अन्य ब्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको थियो।

सुधार गृहमा लागु औषध, डाँकाचोरी, कर्तव्य ज्यान लगायत मुद्दाका २५४ जना छन् । उनीहरु १५ देखि ३० वर्ष उमेर समूहका छन् । बाल सुधार गृहमा राखिएकाहरु २०७९ साल पुस १४ गते बिहान झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । सोही वर्षको माघ अन्तिम साता सुधार गृहमा आगजनीसमेत भएको थियो ।